विचौलियाको खेल र नेप्सेको उतारचढाव

सोमबार, १९ फागुन २०७६, १६ : ३६
विचौलियाको खेल र नेप्सेको उतारचढाव

— विकाशचन्द्र अर्याल

नेपालको एकमात्र धितोपत्रको काम गर्ने नेपाल स्टक एस्चेन्ज लि. को शेयर सूचांक नेप्से केहि दिनदेखि उकालोमा छ । ओली सरकार गठनपछि पूर्वगभर्नर तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाएपछि नेप्से लगातार घटिरहेको थियो । गत बिहीबार कुल १६३२.१८ मा पुगेको नेप्से हिजो आइतबार ४०.८२ अंकले घटेर १५९१.३६ मा पुगेको थियो । आज नेप्से तिव्र गतिमा घट्ने क्रम जारी छ । आज नेप्से ९६.०६ अंकले घटेर १४९५.३० पुगेको छ । अघिल्लो एक सातामात्र नेप्से कुल १२८.०३ अंकले बढेर १६३२.१८ को उच्च विन्दुमा पुगेको थियो । 

सधैँ भन्ने गरिन्छ अस्थिर राजनीतिले पुँजी बजार धरापमा पर्दछ । तर विगत दुई वर्षसम्म दुईतिहाईको सरकार रहँदा पनि नेप्सेलाई स्थिर र दिगो विकास गर्न सकिएन । यसरी हेर्दा नेपालको परिवेशमा राजनीतिलाई मात्र पुँजी बजारको निर्धारक तत्व मान्न सकिने अवस्था देखिएन । 

कुनै पनि देशको आर्थिक तथा पँुजी बजारको अवस्थाको जानकारी दिने तत्व भनेको शेयर बजार ईन्डेक्स नै हो । शेयर बजारलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरै विषय, अवस्थाहरुले प्रभावित पारिरहेको हुन्छ । आर्थिक चलहरु एक अर्कासंग अन्तर सम्बन्धित रहेको हुन्छ । देशको आन्तरिक तत्वहरु कुल ग्राहस्थ उत्पादन, आर्थिक बृद्धिदर, आयात निर्यातको अवस्था, बजारमा तरलताको अवस्था, देशको राजनैतिक अवस्था, सरकारमा आसिन राजनैतिक दल र उसको आर्थिक नीति, प्रतिपक्षमा बसेको राजनैतिक दल र उसको आर्थिक नीति, त्यस्तै अन्तर्राष्ट्रिय आर्थिक अवस्था, सुनचाँदीको मूल्य, तेलको मूल्य जस्ता कुराहरुले धितोपत्र बजारलाई असर गरिरहेको हुन्छ । यसको साथै मुख्य रुपमा धितोपत्र बजारमा दर्ता भएका कम्पनीहरुले गरेको नाफा, वितरण गरेको लाभांश, नियामक पक्षको हस्तक्षेप जस्ता कुराहरुले पुँजी बजारलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । 

शेयर बजारमा सामान्य उतारचढाव हुने भनेको सामान्य कुरा हो । कतिपय आन्तरिक र बाहिरी तत्वहरुले यसलाई प्रभाव पारिरहेको हुन्छ । तर पनि निरन्तर शेयर बजार एकातर्फ मात्र ओरालो लाग्ने स्थितिमा भने त्यसले नकारात्मक अवस्था देखाउन सक्छ । अन्तर्राट्रिय शेयर बजार र नेपालको शेयर बजारको प्रवृत्तिलाई एकै आँखाबाट हेर्न सकिँदैन । अन्तर्राष्ट्रिय बजारमा विश्वको तेल, डलर र सुनको बजार जस्ता कुराहरुले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । नेपालको शेयर बजार त्यति आधुनिक नभइसकेकोले यहाँ आन्तरिक कुराहरुले नै बढी प्रभाव पारिरहेको हुन्छ । हल्लैहल्लाको बीचमा नेप्से तलमाथि गरिरहेको हुन्छ ।

२७ जुलाई २०१६ मा नेपालको नेप्से १८८८ अंकको उच्चतम विन्दुमा पुगेको थियो । त्यसको साढे तीन वर्षमा नेप्से ११०० को हाराहारीमा झ¥यो । यदि नयाँ लगानीकर्ताहरु १८८८ को अंक हुँदा भित्रिएका थिए । उनीहरु ११०० हुने अवस्थामा शेयर बेच्न बाध्य भएका भए सोचौँ उनीहरुले कति घाटा बेहेरेका होलान् ? नेप्से ११०० हुँदा किनेकाहरुले अस्ति बिहीबारको १६३२.१८ अंक हँुदा बिक्री गरे भने नाफा कति लिए होलान् ? यो सामान्य सोचाई मात्र हो । त्यसैले शेयर बजारलाई कतिपयले जुवाघरको संज्ञा दिएका छन् ।

हिजो डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा नेपालको अर्थतन्त्र भयावह तरिकाले बिग्रने अवस्था थिएन । अघिल्लो साता उनी अर्थमन्त्रीबाट हट्दैछन् भन्ने हल्लाले मात्र पनि १२८ अंकले नेप्से बढ्यो । बिहीबार अर्थमन्त्रीको निरन्तरता हुने हल्ला चल्दा पनि शेयर बजार घटेन, सबै रेकर्ड तोड्दै अगाडि बढिरह्यो । यसको अर्थ के हो भने नेपालको शेयर बजार सुनियोजित रुपमा माथि जान्छ, सुनियोजित रुपमा तल झर्छ । 

शेयर बजारको सिद्धान्त अनुसार शेयर सूचांक तल जाँदा शेयर खरिद गर्नु भन्ने हुन्छ । यसरी शेयरको माग बढ्दा बिस्तारै शेयरको मूल्य बढ्छ । त्यसको ठीक विपरित मूल्य बढ्दा बिक्रीको लागि शेयर बजारमा जाँदा माग भन्दा आपूर्ति बढ्छ जसको कारण मूल्य घट्छ जसलाई बजार करेक्सन भनिन्छ । तर अघिल्लो हप्ता बजार करेक्सन हुनै पाएन । बजार सूचांक साथै कुल कारोबार समेत दैनिक चार अर्बभन्दा माथि गयो । यसको सिधा संकेत भनेको केही ब्यक्तिहरुले शेयर बजारमा चलखेल गरेकै छन् ।

के.पी ओली प्रधानमन्त्री बनिसकेपछि र अर्थमन्त्री डा. युवराज खतिवडा आइसकेपछि केही दिन नेपाल सरकारको अर्थनीति के हुने भन्ने सोचेर सैद्धान्तिक अकर्मण्यता भएकै हो । अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्र जारी गर्दै अर्थतन्त्रको अवस्था नराम्रो भएको जानकारी दिएकै हुन् । त्यो अवस्थामा शेयर बजार केही घट्नु स्वाभाविक नै हो । तथापि त्यसपछिका दिनहरुमा शेयर बजार निरन्तर ओरालो लाग्नु पर्ने केही कारण नै छैन । यो सब हल्लाको पछाडि लगानीकर्ताहरुको भिडले गर्दा भएको हो ।

शेयर बजारको मुख्य पक्ष भनेको स्वयं लगानीकर्ताहरु नै हो । हालको मूल समस्या भनेको लगानीकर्ताहरुले लहडमा शेयर कारोवार गर्नु नै हो । जबसम्म लगानीकर्ताहरु स्वविवेकी हुन सक्दैनन् तबसम्म शेयर बजारले स्थायित्व लिन सक्दैन । शेयर बजार भिडको बजार हो भन्ने भनाईको विपरीत शेयर लगानीकर्ताहरुले पनि विवेकपूर्ण निर्णय गर्ने परिस्थिति भएमा शेयर बजारको पचास प्रतिशत समस्या स्वतः हल हुन्छ । 

शेयर बजार हल्लाले गर्दा प्रभावित हुने विश्वब्यापी समस्या हो । नेपालमा त यो समस्या झनै भयावह रहेको छ । शेयर खरिद गर्दा कम्पनीको समग्र वित्तीय अवस्था र सूचांकहरु हेरेर शेयर कारोवार गर्ने लगानीकर्ता कमै रहेका छन् । कम्पनीको नेट वर्थ, अर्निङ पर शेयर, डिभिडेन्ड पर शेयर, स्टयान्डर्ड डेभिएसन, भेरिएसन जस्ता वित्तीय सूचांकहरुको विश्लेषणपछिको कारोवारले शेयर बजारलाई ब्यवस्थित पार्दछ । यदि विवेकपूर्ण भएर लगानी गर्ने हो भने विचौलियाहरुले अनावश्यक चलखेल र फाईदा लिन सक्दैनन् । तर नेपालको शेयर बजार त्यस्तो अवस्थाको छैन । यहाँ हल्लाको भरमा शेयर किन्ने र बेच्ने गर्नाले शेयर बजारलाई समस्या परेको छ । 

कम्पनीहरुको समग्र वित्तीय अवस्थाको विश्लेषण गरेर लगानी गर्ने भएमा साना लगानीकर्ताहरु डुब्ने अवस्था आउने छैन । यदि लगानीकर्ताहरु विवेकशील हुने र समग्र अर्थतन्त्रको चलहरु र स्वयं कम्पनीहरुको वित्तीय स्थिति, त्यसको ब्यवस्थापन र रणनीतिहरु हेरेर लगानी गर्ने हो भने आजको शेयर बजारको उछालले स्थायित्व प्राप्त गर्न सक्दछ अन्यथा शेयर बजार पहिले झैँ ओरालो लाग्न सक्ने अवस्था आउन सक्छ । नेपाली बजारमा आजको भोलि लगानी गरेर दोब्बर तेब्बर कमाउने सपना देख्ने ब्यक्तिहरुको बाहुल्यता रहेको छ । शेयर बजार त्यस्तो बजार हो जहाँ आजको भोलि दोब्बर हुन पनि सक्छ, शुन्य हुन पनि सक्छ । 

हामीले माथि नै उल्लेख गरिसकेका छौँ कि नेपालको शेयर बजार न घटेर ११०० मा पुग्ने कुनै कारण थियो न अघिल्लो हप्ताको जस्तो १२८ अंकले बढ्नु पर्ने । यी सबै कारोवारहरुले के देखाउँछ भने नेपालको शेयर बजारलाई स्थिर हुन नदिने र बजारलाई आफू अनुकुल लिएर जान खोज्नेहरुको केही स्वार्थले बजारलाई यसरी अस्थिर बनाएको छ । यसबाट बच्नको लागि साना लगानीकर्ताहरु, जो जहिल्यै पनि नेप्से उतारचढावको शिकार हुने गरेका छन्, उनीहरु स्वयं विवेकशील हुन जरुरी छ । कुन कम्पनीको शेयर किन्ने र कुन बेच्ने आफै निर्णय गर्न सक्ने हुन जरुरी छ । भिडको पछाडि केही न केही त फरक परिहाल्छ । मुख्य कुरा सूचांक बढ्दा मात्र नाफा हुन्छ भन्ने सोच त्याग्न जरुरी छ । 

शेयर बजार भनेको त्यस्तो बजार हो जहाँ सूचांक घट्दा वा बढ्दा दुवै अवस्थामा नाफा लिन सकिन्छ । यस्तो भएमात्र शेयर बजारको दिगो विकासको आशा गर्न सकिन्छ । नभए उही बजार बढ्दा हौसिएर किन्ने अनि घट्न थालेपछि आत्तिएर बेच्ने गर्दा सधैँ घाटामात्र सहनु शिवाय अर्को विकल्प हुँदैन ।

(लेखक भुवानीशंकर कलेज खैरहनीका व्यवस्थापन विषय अध्यापक हुन् ।)

प्रतिक्रिया दिनुहोस