देशको मुहार बदल्नका लागि वाम गठबन्धन : माधवकुमार नेपाल

शनिबार, ०२ मंसिर २०७४, १४ : ५७
देशको मुहार बदल्नका लागि वाम गठबन्धन : माधवकुमार नेपाल

 


नेकपा (एमाले) का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा जनताले वाम गठबन्धनलाई बहुमत दिएमा पाँच वर्षभित्रमा मुलुकलाई सम्पन्न राष्ट्रका रुपमा विकास गर्ने बताउनुभएको छ ।

संयुक्त वाम गठबन्धनद्वारा कागेश्वरी मनहरा–९ स्थित गोठाटारमा आज आयोजित चुनावी कार्यक्रममा उहाँले मुलुकमा भएका साधन र स्रोतलाई समुचित परिचालन गरी देश विकासका विभिन्न दृष्टिकोणको स्वरुपलाई पूरा गर्न वाम गठबन्धनसँग आवश्यक कार्यक्रम रहेको बताउनुभयो ।

स्थानीय तहमा वाम गठबन्धनको अग्रता कायम रहेकाले अव जनताले प्रदेश र प्रतिनिधिसभामा पनि वाम गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिँदै उहाँले पूर्वाधार निर्माण तथा विकासका योजना कार्यान्वयनमा समन्वय हुनुपर्ने औँल्याउँनुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ का उम्मेदवार समेत रहनुभएका नेता नेपालले देशको मुहार बदल्नका लागि वाम गठबन्धन गरिएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य प्रकाश गौतमले मुलुकमा भ्रष्टाचारको अन्त्य गरी विधिको शासन कायम गर्ने वाम गठबन्धनको प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस