काठमाडौँ । अवश्य पनि फाइदाभन्दा पनि राम्रो तथा फेसनेबल देखिनुमा नै धेरैजसो अभिभावकको रुचि होला तर रेवती गुरुङलाई भने नेपाली उत्पादक वस्तुमा नै मोह रहेको बताउनुहुन्छ । नेपाली मौलिक कटन वा सुतीका भोटा, चौबन्दी र सुरुवाल जाडोका लागि मात्र नभएर गर्मीमा पनि उत्तिकै उपयोगी हुने जानकारी दिनुभयो ।
लैङ्गिक, राजनीति तथा संस्कृतिबारे छोटो अध्ययनका क्रममा फिनल्यान्ड अध्ययन गर्न पुग्नुभएका गुरुङलाई एक परियोजना ‘फिनिस बेबी बक्स’ बारे बताइयो । यस अन्तर्गत भर्खरै सुत्केरी भएका आमालाई शिशु सुताउन कार्डबोर्डको एउटा बाकस र शिशुका लागि केही जोर लुगा दिइनेरहेछ । दोस्रो विश्वयुद्धपछि प्रचलनमा आएको त्यो बेबी बक्साले फिनल्यान्डेली आमा र नवजात शिशुमा अत्यन्त राम्रो प्रभाव परको उहाँलाई थाहा भयो ।
अध्ययन पूरा भएपछि नेपाल फर्कनुभएका गुरुङले त्यो बाक्सामा के–के सामान हुने रहेछन् विस्तृतमा हेर्न मन लाग्यो । हेलसिन्कीका साथीलाई सम्पर्क गरेर उहाँले एउटा बक्सा मगाउनुभयो । आम नेपाली जस्तै गुरुङलाई पनि लागेको थियो, युरोपको ‘विकसित’ मुलुकमा नवजात शिशु र आमाका लागि तयार गरिएका सामान अत्यन्तै वैज्ञानिक होलान्, जुन उहाँले देख्नुभएको थिएन । त्यो बक्सामा राखिएको एउटा गन्जी त ठ्याक्कै हामीले सानैमा लगाएको भोटो जस्तै रहेछ ।
फिनल्यान्डबाट आयातीत भोटो देखेपछि गुरुङले ‘फिनिस बेबी बक्सा’को नक्कल गर्नुपर्दैन, बरु नेपाली मौलिक कपडाको व्यवसाय सुरु गरे हुन्छ भन्ने सोचाइ आयो । त्यसपछि उहाँ विगत एक वर्षदेखि नेपाली समाजमा पुस्तौँदेखि चलिआएको शैलीमा भोटो र दौरासुरुवाल सिलाउँदै र बेच्दै हुनुहुन्छ ।
पोषणविद् डा. अरुणा उप्रेती बालबालिकालाई पुरानो तरिकाकै लुगा जस्तै तीनपत्रे भोटो, दौरा र सुरवाल लगाइदिनुपर्ने सुझाव दिनुहुन्छ । कटनको लुगा जाडोलाई मात्र नभएर गर्मीलाई पनि त्यत्तिकै उपयुक्त हुन्छ । उहाँले जाडोमा चिसोबाट बचाउँछ भने गर्मीमा पनि शीतल प्रदान गर्छ, भोटो लगाउँदा यसले विशेषगरी बालबालिकाको छातीमा सीधै हावा पस्न रोक्ने भएकाले यस समयमा बालबालिकालाई सकेसम्म भोटो लगाइदिन उपयुक्त मानिन्छ भन्नुभयो ।
नेपाली भोटोको वैज्ञानिक पक्ष
गुरुङले आफ्नो अनौपचारिक अनुसन्धानका क्रममा केही चाखलाग्दा कुरा पत्ता लगाउनुभयो । आफ्नै नातागोता र भोटोको भित्रीका मुख्य दुई काम रहेछन् गर्मी हुँदा यसले पसिना सोस्छ । आफ्नो सिकाइबारे गुरुङ भन्नुहुन्छ– बाहिरको खस्रो कपडाबाट बालबालिकाको नरम छाला जोगाउँछ । टिकाउका लागि बाहिरी कपडा भित्रीभन्दा अलिक खस्रो नै चाहिन्छ । टाँक लगाउनु हुँदैन । बालबालिकाले खेल्दाखेल्दै निल्न सक्छन् । तुना भयो भने सजिलै सानोठूलो बनाउन मिल्छ र टिकुन्जेल लगाइदिन पाइन्छ ।
उहाँलाई थाहा भयो, शिशुका भोटो र दौरासुरुवाल सिलाउन सुती कपडा खोजिन्छ किनकि यो पूर्णतः प्राकृतिक हुन्छ र शिशुले चपायो, निल्यो नै भने पनि पचाउन सक्छ । तकियाभित्र भरिने तोरीका दानाले शिशुको टाउको सही आकारमा विकसित हुन मद्दत गर्छ । हेर्दा उस्तै देखिने कोदो वा अन्य दाना हाल्नुहुँदैन । तिनीहरू तोरी जस्ता नरम हुँदैनन् । कोदो त छिट्टै धुलिन्छ र खार लाग्छ । त्यसले शिशुको स्वास्थ्यमा असर पर्न सक्छ ।
डा. उप्रेती नेपाली मौलिकताको लुगा टिकाउ हुनुका साथै पूर्णरूपमा प्राकृतिक हुने भएकाले पुनः प्रयोग गर्न मिल्छ । तोरीको तकियाले बालबालिकाको टाउको मिलाउन मद्दत गर्छ भन्नुहुन्छ । यस्तै हाडजोर्नी विशेषज्ञ डा. प्रकाश द्वारेले नवजात शिशुको हड्डी धेरै नरम हुने भएकाले सानोमा जस्तो आकार दियो त्यस्तै हुने जानकारी दिँदै तोरीको तकियाले शिशुको टाउको मिलाउन मद्दत गर्छ भन्नुभयो ।
उहाँले बजारमा पाइने टोपीभन्दा पनि नेपाली मौलिक टोपी तुना बाँध्ने खालको चाहिन्छ । जसले टाउको गोलो बनाउनुका साथै चिसोबाट पनि बचाउँछ भन्नुभयो ।
नेपाली कपडाको बजार
नेपालीभन्दा पनि विदेशीले हाम्रो नेपाली मौलिक लुगा रुचाउनुभएको छ । स्विजरल्यान्ड, चीन, जर्मनी, ताइवान लगायतका देशमा धेरै कपडा जाने जानकारी गुरुङले दिनुभयो । नवजात शिशुदेखि पाँच वर्ष सम्मका बालबालिकाको लुगा सिलाउँदै आउनुभएका गुरुङ तोरीको तकिया, भोटो, दौरा, बेबी क्यारी, ब्ल्याङ्केट सबै सुतीकै बनाउनुहुन्छ । ढाकाको जस्तै देखिने लुगा पनि बजारमा पाइन्छन्, जुन पोलिस्टरको कपडाले बनेका हुन्छन्, ती सस्ता भए पनि शिशुको स्वास्थ्यमा भने नकारात्मक असर गरिरहेको हुन्छ ।
गरिबी निवारण कोषको परियोजनामा सँगै काम गर्नुभएका ओर्नेलले नेपाली भोटो र दौरा, सुरुवाल विदेशी बजारमा पु¥याउन सहयोग गर्नुभएको छ । उहाँ नेपाली उपभोक्ता नेपालमा बनेका सामग्री आयातीत ब्रान्डभन्दा सस्तो हुनुपर्छ भन्ने अपेक्षा गर्छन् तर गुणस्तरको भने वास्ता गर्दैनन् । धेरैले हामी जस्ता स्थानीय ब्रान्डको सम्मान गर्दैनन् तर हामी यसलाई बदल्न चाहन्छौँ भन्नुहुन्छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बेवारिसे नवजात शिशुको सहनी परिवारले लियो जिम्मा
बाँकेमा ९ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु