बाँस्कोटा जोगाउन प्रधानमन्त्री ओलीको ‘अख्तियार प्रमुख’सँग भेट

भ्रष्टाचारको दाग लागेपछि गोकुलको राजनीति अँन्धकारमा

शुक्रबार, १६ फागुन २०७६, ०९ : १५
बाँस्कोटा जोगाउन प्रधानमन्त्री ओलीको ‘अख्तियार प्रमुख’सँग भेट

काठमाडौं । कुरा तीन दिन अघिको हो । प्रधानमन्त्री केपी ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा अख्तियार प्रमुख नविनकुमार घिमिरेलाई बोलाए । ‘तपाईसँग अलिकति सल्लाह गर्नुछ, बालुवाटार आउनुहोस, साँझ’ प्रधानमन्त्री ओलीले घिमिरेलाई टेलिफोन गरी बोलाए । प्रधानमन्त्री ओलीले आफै टेलिफोन गरी बोलाएपछि उनी नजाने कुरा भएनन् । उनी बालुवाटार गए ।

प्रतिपक्षी काँग्रेसले अख्तियार सरकारको छायाँ बनिरहेको र उसले सम्वैधानिक स्वायक्त अंगका रुपमा काम गर्न नसकेको आरोप ललिता निवास प्रकरणमा अख्तियारले अदालतमा लगेको मुद्दा पछि आरोप लगाईरहेको छ । ललिता निवास प्रकरणमा कम्युनिष्ट पूर्व प्रधानमन्त्रीद्वय डा. बाबुराम भटटराई र माधव नेपाललाई मुद्दा नचलाईएको, नेकपा महासचिव विष्णु पौडेलका छोराका सन्र्दभमा भने जग्गा फिर्ताको नाममा उन्मुक्ति दिईएको र काँग्रेस नेतालाई भने जानीजानी फसाईएको आरोप काँग्रेसको थियो ।

यो प्रकरणमा काँग्रेस नेता विजय गच्छेदार सहित १७० जनालाई अख्तियारले अदालतमा मुद्दा दर्ता गरेको थियो । त्यसमध्ये १५२ लाई भ्रष्टाचार र अन्यलाई जग्गा जफ्तका लागि अख्तियारले मुद्दा चलाउने निर्णय गरेको थियो । त्यही बीच अर्काे फन्डा आयो ।

प्रधानमनत्री ओलीका अति विश्वासप्राप्त निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन माग्दै गरेको अडियो प्रकरण सार्वजनिक भयो । बाँस्कोटाले पदबाट राजीनामा दिए । उनलाई राजीनामा मात्र गराई उन्मुक्ति दिने प्रयासमा प्रधानमन्त्री रहेको आरोप पनि लाग्यो ।

दुई दिनपछि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा गोकुलको मात्र आँटले उनले कमिसन डिल नगरेको र यसमा प्रधानमनत्रीकै संग्लनता रहेको भन्दै अख्तियारमा उजुरी प¥यो । प्रेम कैदी र आनन्दराम पौडेलले ओली र बाँस्कोटामाथी छानिवनको माग गर्दै अख्तियारमा उजुरी दर्ता गराए । यस्तो बेला प्रधानमन्त्रीले अख्तियार प्रमुखलाई किन बोलाए आफ्नै निवासमा ?

आम चासोको विषय थियो । भलै गोकुल प्रकरणमा प्रधानमन्त्रीले हिजो बिहिबार पार्टीको वाग्मती प्रदेशको भेला तथा राजनीतिक प्रशिक्षणमा बचाउ गरेर पहिलो पटक सार्वजनिक अभिब्यक्ति दिए । तर यो प्रकरण पछि सरकारमा ओलीको हात ‘काटिएको’ जस्तो अवस्था छ ।

सरकारको प्रतिरक्षामा खरो रुपमा उत्रने नेताको अभाव प्रधानमन्त्री ओलीलाई परिरहेको छ । आफ्नै बालकोट स्थित निवासमा बस्दै आएका बाँस्कोटालाई अख्तियारबाट कसरी जोगाउने र निश्कलंक फेरि राजनीतिमा कसरी पूर्नस्थापित गराउने भन्ने चिन्ता अहिले प्रधानमन्त्रीमा सबैभन्दा बढी छ । त्यसमाथी यो प्रकरणमा आफै समेत मुछिन पुगेका छन्, उनी । उनी विरुद्ध समेत अख्तियारमा मुद्दा परिसकेको छ ।

उनले अडियोमा सत्यता नरहेको विहिबारको पार्टी कार्यक्रममा बोले पनि । तर तीन दिन अघिको अख्तियार प्रमुखसँगको बालुवाटार भेट भने गोकुल प्रकरणको बैठान कसरी गर्ने भन्नेमा केन्द्रीत रहेको बालुवाटार स्रोतले बताएको छ । झण्डै दुई घण्टा प्रधानमन्त्रीले अख्तियार प्रमुख घिमिरेसँग छलफल गरेका थिए । भ्रष्टाचारको दाग लागेपछि गोकुलको राजनीति अहिले अन्धकारमा धकेलिएको छ । सार्वजनिक रुपमा उनी मुख देखाएर हिड्न सक्ने अवस्थामा देखिएका छैनन् ।

त्यही भएर पनि ओलीलाई उनको राजनीति जोगाउने चिन्ता छ । उनले अब यो प्रकरणमा अख्तियारलाई छानबिन आग्रह गरेका छन् । पार्टीले निलम्वन गरी छानविन गर्नुपर्ने कुरा उठेपनि उनले कारवाही गर्न दिएका छैनन् । मात्र यसमा अख्तियारले अनुसन्धान गर्छ भनेर पार्टी नेताहरुलाई प्रधानमन्त्रीले पार्टी अनुसन्धानबाट पन्छाउन खोजिरहेका छन् ।

स्रोतका अनुसार अख्तियारले बाँस्कोटा प्रकरणमा सामान्य छानविन गर्ने र कमजोर मुद्दाका रुपमा अदालत लैजाने र अदालतबाट अडियो फेक भएको बनाई गोकुललाई चोख्याउन कसरी सकिन्छ भन्नेमा यतिबेला प्रधानमन्त्री रहेको स्रोतको भनाई छ ।

उनले अख्तियार प्रमुखलाई किन भेटे ? यो भेटपछि बाँस्कोटा प्रकरण अब कसरी अगाडी जान्छ र बाँस्कोटाको राजनीतिमा कमब्याक कसरी हुन्छ ? त्यो भने केही समय कुरेपछि थाहा लाग्ने देखिएको छ ।