परासी । ६ महिनादेखि भारतमा बन्धक बनाई राखिएका दुई नेपाली युवतीको बिहिबार राति उद्धार गरिएको छ ।
पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा भारतको महाराजगञ्ज जिल्लाको कटरी रोड कम्ताबजारबाट उनीहरुलाई सकुशल उद्धार गरेको हो ।
आफ्ना छोरीलाई बन्धक बनाई राखिएकाले उद्धार गरिदिनु भन्ने युवतीकी आमाको उजुरीका आधारमा उनीहरुलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान पनि चलिरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । ‘युवती लैजाने राई थरकी महिला र अन्य संलग्नहरुको खोजी भइरहेको छ’, उहाँले भन्नुभयो ।
उद्धार गरिएका युवती नवलपरासीको बर्दघाटका एकै घरका दिदीबहिनी हुन् । एक महिलाले पसलमा राम्रो काम लगाइदिने भन्दै प्रलोभनमा पारी भारत लगेको तर त्यहाँ कोठामा बन्धक बनाई शारीरिक, मानसिक तथा आर्थिक यातना दिने, अर्केष्ट्रामा नाच्न लगाउने र घरमा आउनसमेत नदिएपछि उनीहरुले घरमा खबर गरेको युवतीकी आमाले बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
हमासको कैदबाट इजरायलका ४ बन्धक मुक्त
राष्ट्रसङ्घीय प्रमुखद्वारा गाजामा ‘तत्काल’ युद्धविराम र बन्धकलाई रिहा गर्न आह्वान
अवैध रूपमा अमेरिका जान लागेका १० नेपाली केन्यामा बन्धक, गिरोहका तीन सदस्य पक्राउ
भारतीय नागरिकलाई अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक, ९ जना पक्राउ