डोजर लगाएर अस्पतालका सटरहरु एकाबिहानै भत्काईयो

सफल खबर संवाददाता

विहीबार, २३ माघ २०७६, १२ : ११
डोजर लगाएर अस्पतालका सटरहरु एकाबिहानै भत्काईयो

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालका सटरहरु बिहीबार बिहान डोजर लगाएर भत्काइएको छ । अस्पताल प्रशासनले दिएको समय अवधिभित्र व्यवसायीहरुले सटर खालि नगरेपछि प्रहरीको सहयोगमा डोजर लगाएर भत्काईएको छ ।

यता सटर व्यवसायीहरुले भने त्यसको विरोध गरेका छन् । उनीहरुले सम्झौताअनुसार नै व्यवसाय सञ्‍चालन गर्न पाउनु पर्ने माग गरे । एकाबिहानै सटर भत्काउन डोजर पुगेपछि व्यवसायीहरु बिच भागाभाग मच्चिएको थियो । व्यवसायीहरुले सटरमा रहेका सामानहरु पनि सुरक्षित साथ राख्न नपाएको भन्दै गुनासो गरिरहेको थिए ।

प्रदेश सरकारले भने भत्काईएको स्थानमा अब फुलबारी र बगैंचा बनाउने जनाएको छ । यता व्यवसायीले पाँच वर्षका लागि सम्झौता गरेको तीन महिनामै प्रदेश सरकारले सटर खाली गर्न भनेपछि करार सम्झौता परिपालनाको माग गर्दै अदालतमा मुद्धा हालेका थिए । रुपन्देही जिल्ला अदालतले भने सो मुद्दामा  अन्तरकालीन आदेश खारेज गरिदिए पनि व्यवसायीले मानेका थिएनन् । 

पाँच वर्षका लागि सम्झौता गरेको तीन महिनामै प्रदेश सरकारले अस्पतालका सटर खाली गर्न भनेपछि व्यवसायी रुष्ट बनेका थिए ।  अस्पतालले व्यवसायीलाई पत्र नै दिएर खाली गर्न लगाए पनि नमानेपछि डोजर लगाएर भत्काउन सुरु गरेको अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए । 

अस्पतालमा ७३ वटा सटरमध्ये दुई वटा साझा (सरकारी) औषधि पसल बाहेक अन्य सटरहरुमा ६३ करोड रुपैयाँ लगानी भएको व्यवसायीहरुको दावी छ । अस्पताललाई यि सटरबाट वार्षिक ९ करोड रुपैंया आम्दानी हुंदै आएका थियो । गत कात्तिक १८ गते प्रदेश ५ को मन्त्रिपरिषद बैठकले अस्पतालका सटरहरु मंसिर मसान्तसम्म व्यवसायी आफैंले खाली नगरे डोजर लगाएर भत्काउने निर्णय गरेको थियो ।

यता रुपन्देही अदालतले व्यवसायीको विपक्षमा फैसला गरेपनि उनीहरुले अस्पताल प्रशासन र प्रदेश ५ सरकारलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका छन्

प्रतिक्रिया दिनुहोस