नेकपामा ओली गलेका यी दुई निर्णय

एक समय थियो–प्रधानमन्त्री ओलीले जे भन्छन्, पार्टीमा त्यही निर्णय हुन्थ्यो । तर अब अवस्था त्यस्तो छैन्, प्रधानमन्त्री ओली पार्टीभित्रै गल्न थालेका छन्

सफल खबर संवाददाता

सोमबार, २० माघ २०७६, ०८ : ४४
नेकपामा ओली गलेका यी दुई निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी ओली अहिले आफ्नै पार्टीभित्र गल्न थालेका छन् । अर्थात, उनले भनेका निर्णय अहिले पार्टीमा हुबहु लागु हुने अवस्थाको अन्त्य भएको छ । २१ महिनापछि बसेको पार्टी केन्द्रीय समिति बैठकले पनि त्यही कुराको पुष्टि गदै बैठक सम्पन्न भएको छ ।

पार्टी एकतापूर्वका तत्कालिन एमालेमा प्रधानमन्त्री ओली एकछत्र राज गर्थे । २०७० सालमा सम्पन्न एमालेको नवौं महाधिवेशनमा ५६ मतले १४ वर्ष पार्टी हाँकेका वरिष्ठ नेता माधव नेपाललाई पार्टी निर्वाचनवाट पराजित गरेर ओली नेतृत्वमा आएका थिए ।  त्यसपछि नै हो – एमालेभित्र ओली राज चल्न थालेको । हुन त त्यसअगाडी पनि ओलीको एमालेभित्र आफ्नै अस्तित्व थियो ।

उनी पार्टीभित्र सधै गुट राजनीति गर्ने नेताका रुपमा परिचित थिए । आफै पार्टी अध्यक्षमा निर्वाचित भएपछि पनि उनको आफनो समुह बलियो बनाउने अभियान रोकिएको थिएन । यता पूर्व माओवादीमा पनि त्यस्तै थियो । अध्यक्ष प्रचण्ड जे चाहन्थे, पार्टी निर्णय त्यही हुने गर्दथ्यो । उनलाई टक्कर दिने नेता खासै थिएनन् ।

जब ओली प्रचण्ड दुवै पार्टी एकता गर्ने निश्र्कषमा पुगे । त्यसपछि फेरि यी दुई नेता पार्टीमा झन शक्तिशाली बन्दै आए । अझ खासगरी ओली एकीकृत पार्टीभित्र शक्तिशाली देखिए । उनी शक्तिशाली देखिनुका दुई कारण थिए – पहिलो शक्तिशाली कम्युनिष्ट पार्टीको दुई अध्यक्षमध्येका एक अध्यक्ष, दुई अध्यक्ष मध्येपनि वरियतामा पहिलो नम्बरका अध्यक्ष । दोश्रो राज्यसत्ताको बागडोर हातमा लिएका प्रधानमन्त्री ।

पार्टी र सरकार दुवै आफ्नै हातमा रहेपछि ओली झन शक्तिशाली देखिएका थिए । उनले पूर्व माओवादीतिर शासन चलाउन नसकेपनि पूर्व एमालेतिर भने आफुलाई मन लागेकालाई काखा र मन नलागेकालाई पाखा लगाउन उनलाई कसैले रोक्न सक्ने अवस्था नै थिएन् । उनी जे चाहन्थे, त्यही निर्णय सत्तारुढ दल नेकपाबाट सजिल्यै गराउन चाहन्थे । ओली जे बोल्छन, त्यो पार्टी निर्णय हुने, जे सोच्छन्, त्यही अनुसार पार्टी हिड्ने अवस्था पनि पार्टी एकताको यो १९ महिनासम्म एकछत्र चल्यो ।

उनकै राज चलेकै कारण पार्टीभित्र कहिले उनले वरिष्ठ नेता माधव नेपाललाई पाखा लगाएर झलनाथ खनाललाई वरियतामा उकाल्ने प्रयास गरे, कहिले खनाललाई पाखा लगाएर नेपाललाई अगाडी ल्याउने खेल जारी राखिराखे । वामदेव गौतमलाई समेत कहिले के आश्वासन दिन्थे, कहिले के बनाउने निर्णय आफैले चाहे अनुसारका गराउन सक्थे । वरिष्ठ नेता माधव नेपालको एक ब्यक्ति एक पदको माग र विधानको ब्यवस्थासम्मलाई ओलीले आफु शक्तिशाली रहेरै आफ्नो तजविजीमा ठेगान लगाईदिन्थे ।

यस अर्थमा ओली पार्टीमा गल्नै नचाहने नेतामा दरिएका थिए । तर पार्टीमा सधै त्यही समिकरण रहिरहदैन भन्ने पुष्टि अहिले नेकपाभित्र हुन थालेको छ । ओलीको मनमौजी पार्टीमा अब क्रमशः खुम्चिदै जान थालेको छ । पार्टीका वरिष्ठ नेताहरुनै प्रधानमन्त्री ओलीको कार्यशैलीगत समस्यावाट आजित भएर एकजुट हुन थालेपछि उनको पार्टीभित्र हुकुमी चल्न छोडेको नेकपाका एक सचिवालय सदस्यले बताए ।

प्रधानमन्त्री ओली अहिले आफनो चालमा भन्दा पनि बहुमत नेताहरुको निर्णयमा गल्न थालेका छन् । त्यसको पछिल्लो उदाहरण उनको अरुचीका बिच पनि केन्द्रीय समितिले लिएको एमसिसि अध्ययन कार्यदल गठनलाई लिन सकिने नेताहरु बताउँछन् । ओली पछिल्ला पार्टीका दुई निर्णयमा गलेका छन् । पहिलो हो, सभामुख चयन र दोश्रो एमसिसि अध्ययन कार्यदल गठन । तत्कालिन सभामुख कृष्णबहादुर महरा संसदकै एक कर्मचारी बलात्कार प्रयासमा पदमुक्त भएपछि सभामुख चयनमा ओलीले आफ्ना विश्वासिला सुवास नेम्वाङलाई ल्याउन चाहेका थिए ।

४ महिनासम्म संसदले सभामुख विहिन अवस्था झेल्न परेपनि उनी गल्न चाहेका थिएनन् । तर जब पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई पार्टीको कार्यकारी भूमिका दिन पार्टीभित्रै दबाव बढ्यो, उनी अधिकार बाँडाफाँडमा सहमत हुन वाध्य बने । सरकार ओली र पार्टी प्रचण्डले हेर्ने गरी गत ४ मंसिरमा नेकपा सचिवालयले निर्णय लियो । त्यसपछि अस्तब्यस्त बनेको पार्टी संगठनात्मक संरचनामा अध्यक्ष प्रचण्डले गति दिन थाले ।

२३ पुसमा नवनिर्वाचित उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटीमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्दय झलनाथ खनाल, माधव नेपाल, गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एकजुट भए, सभामुखमा प्रचण्डको प्रस्तावमा सहमति जनाउने निर्णयमा पुगे, त्यसपछि भने ओली पार्टीमा आफनो अडानमा टिक्न सकेनन् । उनले प्रचण्डको प्रस्तावकै उम्मेदवार अग्नि सापकोटाको पक्षमा निर्णय लिन तयार भए । ‘त्यो प्रधानमन्त्री ओली पार्टी निर्णयमा गलेको पहिलो उदाहरण थियो’ ती सचिवालय सदस्यले सफलखबरसँग भने ।

त्यसपछि ओली अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज (एमसिसि) सदनबाट यथास्थितीमै जसरी पनि छिटो पारित गर्न चाहन्थे । उनले त्यसका लागि पार्टीमा अनेक दाउ पनि खेले । पार्टी केन्द्रीय समिति बैठकको उदघाटनमा नेताहरुलाई कन्भिन्स गर्न पनि खोजे । तर उनको चाहना अनुसार कसैले निर्णय लिई दिएन् । उनको अरुचीका बीच एमसिसि परियोजनाका विषयमा अध्ययन गर्न कार्यदल बनाउने निर्णय गरिदियो । यो प्रधानमन्त्री ओली गलेको दोश्रो निर्णय थियो ।

नेकपाले झलनाथ खनालको संयोजकत्वमा भीम रावल र प्रदीप ज्ञवाली रहेको अध्ययन कार्यदल गठन गरेको छ । प्रधानमन्त्रीले सकेका भए एमसिसि पारित गराईसक्थे तर पार्टीमा अहिले सचिवालय देखि, स्थायी समिति र केन्द्रीय समिति सम्म ओली कमजोर छन् । त्यही भएर पनि उनले पार्टी बैठक समापनको अन्तिम तिर नेताहरुलाई सञ्चारमाध्यमले टाउको गनेर पक्ष विपक्षमा पारेको, कोटरीमा राखेर भागवन्डा लगाईदिएकोले दुःख लागेको बताएका थिए ।

ओलीले यसो भन्नुभित्र आफु पार्टीमा कमजोर छैन भन्ने सन्देश नजाओस् भन्ने हो । आफुइतर नेताहरुका बीचमा भईरहेको गठबन्धन र पार्टी निर्णयमा आफ्नो सोच अनुकुलका निर्णय हुन थालेपछि उनी कमजोर बनेको सन्देश मिडियामा जान थालेपछि प्रधानमन्त्रीको त्यस्तो अभिब्यीक्त आएको थियो । ‘जे होस, ओली अहिले पार्टी निर्णयमा गल्न थालेका छन्, त्यसको प्रष्ट संकेत सभामुख चयन र एमसिसि अध्ययन कार्यदल गठनले देखाएको छ,’ सचिवालयका ति सदस्यले भने ।
 

प्रतिक्रिया दिनुहोस