चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई नेपाल ल्याइने

सफल खबर संवाददाता

आइतबार, १९ माघ २०७६, १७ : २६
चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई नेपाल ल्याइने

काठमाडौँ । चीनको वुहानमा रहेका १७७ नेपाली विद्यार्थीलाई नेपाल ल्याइने भएको छ । चीनको वुहानमा कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपाली विद्यार्थीलाई नेपाल फिर्ता ल्याउन लागिएको हो । 

१७७ जना विद्यार्थीलाई नेपाल ल्याउने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

वुहानमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित तवरले नेपाल ल्याउनका लागि फाराम भर्न शनिबार नै सूचना जारी गरिएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

उनीहरुलाई नेपाल ल्याउँदा चीनबाट प्रस्थान गर्ने विमानस्थलमा स्वस्थ्य परीक्षण हुनेछ भने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पनि फेरि स्वास्थ्य परीक्षण गरिनेछ । संक्रमण भएको पाइए उपत्यकाको विभिन्न अस्पतालका व्यवस्था गरिएको आइसोलेसन वार्डमा राखी उपचार गर्ने व्यवस्था सरकारले मिलाएको छ । 

सरकारले नेपालीलाई उद्दार गर्न जहाज तयारी अवस्थामा राखेको भएपनि कहिले पठाउने भन्नेबारे चाहिँ टुंगो लागिसकेको छैन । 

विश्वभर त्रास फैलाएको कोरोना भाइरसबाट चीनमा मात्र मृत्यु हुनेको संख्या ३०४ पुगिसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । कोरोना भाइरसका कारण चीन बाहिर फिलिपिन्समा पहिलो व्यक्तिको मृत्यु भएको छ ।