चितवनको कोटीहोम महायज्ञ विवादमा, उपराष्ट्रपति पुन उद्घाटन नगरी फर्किदै

सफल खबर संवाददाता

शनिबार, ११ माघ २०७६, १५ : ०२
चितवनको कोटीहोम महायज्ञ विवादमा, उपराष्ट्रपति पुन उद्घाटन नगरी फर्किदै

चितवन । चितवनको नारायणी नदी किनारमा कोटीहोम महायज्ञको उद्घाटन गर्नकै लागि नन्दबहादुर पुन शुक्रबारै चितवन आएका थिए । उनी शुक्रबार नारायणी नदीमा चल्न लागेको मिनी पानीजहाजसमेत चढेका थिए । आज शनिबार उपराष्ट्रपति पुनले नै कोटीहोम महायज्ञको उद्घाटन गर्ने तयारी थियो । तर कोटीहोम महायज्ञ नै विवादको भूमरीमा परेपछि उपराष्ट्रपति पुनः कोटीहोम महायज्ञको उद्घाटन नगरी फर्कने भएका छन् । 

स्वामी बालयोगेश्वर महाराज बताउने गेरुवस्त्राधारी विजय भण्डारीको नेतृत्वमा आजदेखि कोटीहोम महायज्ञ हुन लागेको थियो । उनै बालयोगेश्वर महाराज बताउने विजय भण्डारी नै ठगीमा संलग्न  भएको भनेर आजको कान्तिपुर दैनिकमा प्रथम समाचार प्रकाशित भएपछि महायज्ञ विवादको भूमरीमा परेको छ । सोही समाचार बाहिरिएपछि उद्घाटन गर्न आएका उपराष्ट्रपति उद्घाटन नगर्दै फर्किन लागेका हुन् । कोटीहोमकै उद्घाटनको लागि चितवन आएका थिए ।

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले कार्यक्रम विवादित बनेपछि उपराष्ट्रपति काठमाडौंमा फर्किन लागेको जानकारी दिए ।

नारायणी नदी किनारमा हुने १०८ कुण्डीय कोटीहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ’ को उपराष्ट्रपति पुनले उदघाटन गर्ने कार्यक्रम थियो, तर उपराष्ट्रपति पुन महायज्ञ उद्घाटन नै नगरी फर्कने भएका छन् । 

प्रतिक्रिया दिनुहोस