टंकप्रसादले ‘जिउँदो सहिद’ को भत्ता मागेपछि...

पत्रपत्रिकाबाट

शनिबार, ११ माघ २०७६, ०८ : २८
टंकप्रसादले ‘जिउँदो सहिद’ को भत्ता मागेपछि...

काठमाडौँ । कुरा ०२५ सालको हो, तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले ‘जिउँदो सहिद’ का रूपमा मासिक जीवन निर्वाह भत्ता मागे । तत्कालीन राजा महेन्द्रलाई समस्या पर्‍यो– ‘कस्ता व्यक्तिलाई कुन श्रेणीको सहिदको सूचीमा राख्ने ?’ यसबारे टुंगो लगाउन उनले नवराज सुवेदीको अध्यक्षतामा कार्यदल गठन गरे तर त्यसको प्रतिवेदन कार्यान्वयन भएन ।
०६७ सालमा पूर्वमन्त्री मोदनाथ प्रश्रितको अध्यक्षतामा गठित कार्यदलले सहिदलाई तीन प्रकारका सूचीमा राख्न सुझायो । पहिलो, आफू मर्छु भन्ने जान्दाजान्दै होमिएका । अर्को, मर्छु भन्ने नलागी होमिएका । तेस्रो, आर्थिक लाभकेन्द्रित । उक्त कार्यदलले बुझाएको प्रतिवेदन पनि गुपचुप छ ।

०६२/०६३ अघिसम्म वास्तविक सहिद भनेर १९९७ माघमा राणाशासकद्वारा मारिएका चार जना शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई चिनिन्थ्यो । राणाशासनको विरोध गरेका कारण माघ १० गते शुक्रराजलाई टेकुको खरीको रुखमा र १२ गते धर्मभक्तलाई सिफलमा झुन्ड्याएर मारिएको थियो भने दशरथ र गंगालाललाई माघ १६ गते शोभाभगवती मन्दिर किनारमा गोली हानेर मारिएको थियो । उनीहरूकै सम्मानमा माघ १६ गतेलाई सहिद दिवसका रूपमा मनाइँदै आएको छ ।

सहिद दिवस औपचारिक रूपमा ०१२ माघ १६ गतेबाट मनाउन थालिएको हो । ‘जिउँदा सहिद’ टंकप्रसाद आचार्य ०१२ माघ १३ मा नेपालको १९ औं प्रधानमन्त्री बने । त्यसै दिन मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर उनले माघ १६ मा ‘सहिद दिवस’ मनाउने घोषणा गरे । १९९७ सालमा मृत्युदण्डको घोषणा गरिएकामा चार सहिदबाहेक आचार्यको पनि नाम थियो तर राणाहरूले आचार्यलाई फाँसी दिएनन्, चारपाटा मुडेर जेल हालिदिए । त्यसपछि उनलाई जिउँदो सहिदका रूपमा चिनिन थाल्यो । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस