सभामुखमा राष्ट्रिय सहमती भईसकेकाले माईतीघरमा दुःख नगर्नुस : नेकपा अध्यक्ष दाहाल

पत्रपत्रिकाबाट

विहीबार, ०९ माघ २०७६, ०६ : ५५
सभामुखमा राष्ट्रिय सहमती भईसकेकाले माईतीघरमा दुःख नगर्नुस : नेकपा अध्यक्ष दाहाल

file photo

काठमाडौँ । सभामुख पदका एकल उम्मेदवार अग्निप्रसाद सापकोटाको विषयलाई लिएर आन्दोलन नगर्न नेकपा अध्यक्ष पुष्पकमल दाहालले आग्रह गरेका छन् ।सापकोटाले संघीय संसद प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दर्ता गरेपछि द्वन्द्वकालीन समयमा व्यक्ति हत्याको आरोपी भन्दै विरोध भइरहँदा बुधबार दाहालको उक्त भनाइ आएको हो।

दाहालले सभामुखका एकल उम्मेदवार सापकोटाको विषयमा आन्दोलन गरेर दुःख नगर्न आग्रह गरेका हुन्।खुमलटारस्थित निवासमा दाहालले सभामुखमा सापकोटालाई प्रतिपक्ष र सत्तापक्षले स्वीकार गरेको बताएका हुन्। 'सिंगो राष्ट्र नै सभामुखका विषयमा एक ठाउँमा उभिएका बेला माइतीघरमा दुःख नगर्न,' उनको आग्रह थियो। ‘हिजोसम्म आइपुग्दा सभामुखको विषयमा सिंगो राष्ट्र एक ठाउँमा उभिइसक्यो।

अब साथीहरुले किन दुःख गरेका हुन् जाडोमा,’ दाहालले भने। नेकपाले सर्वसम्मत रूपमा सापकोटाको नाम सिफरिस गरेको र प्रतिपक्षी दलहरूले समेत समर्थन गरेको अवस्थामा उक्त विषयमा आन्दोलन आवश्यक नभएको दाहालको भनाइ थियो।

सापकोटाका विरुद्धमा कुनै मुद्दा नभएको समेत दाहालले बताए। ‘उहाँमाथि केही पनि छैन। बेकारको कुरा हो त्यो। हाम्रो पार्टी त सर्वसम्मत निर्णय गरेर सभामुखमा अग्नि सापकोटालाई अघि सार्‍यौँ। हिजो प्रतिपक्षी र अरु पार्टीले समेत उहाँलाई समर्थन गरिसकेपछि सिंगो राष्ट्र नै एक ठाउँमा भएको बेला माइतिघर मण्डलामा साथीहरूले दुःख नगरे हुन्थ्यो,' उनले भने।

यसअघि बुधबार दिउँसो मावनअधिकारवादीहरूले अदालतमा मुद्दा चलिरहेको व्यक्तिलाई सभामुख बनाउन लागिएको भन्दै विरोध प्रदर्शन गरेका थिए। ‘हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख नबनाउ, पीडितलाई थप अपहेलित र अपमानित नगर, मानव अधिकार र कानुनी शासनको सम्मान गर’ भन्ने नारासहित माइतिघरमा प्रदर्शन भएका थिए। सभामुख निर्वाचनको घोषणा १२ गते हुँदैछ। कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस