काठमाडौँ । सरकारले पर्यटकका लागि नेपालमा कुनै पनि सुरक्षा चुनौती नरहेको बताउँदै ढुक्क भएर भ्रमण गर्ने पर्यटकलाई आग्रह गरेको छ । कुनै पनि ठाउँमा विदेशीहरु एक्लै घुम्नसक्ने अवस्था रहेको भन्दै सरकारले पर्यटकको सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी नराखेको जनाएको छ ।
नेपाल वैकल्पिक अध्ययन समाजद्वारा आज राजधानीमा आयोजित ‘समृद्धिमा पर्यटनको अर्थ¬राजनीति’ विषयक अन्तरक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले माओवादी जनयुद्धका बेलामा समेत पर्यटक पूर्ण सुरक्षित रहेको स्मरण गर्दै अहिलेको अवस्थामा सुरक्षा चुनौती छ भन्नु अफवाह मात्रै हुने जिकिर गर्नुभयो ।
नेपालमा जस्तो पर्यटक सुरक्षित कहीँ पनि नभएको बताउँदै मन्त्री भट्टराईले भन्नुभयो, ‘माओवादी जनयुद्धका बेलामा १७ हजार नेपालीले ज्यान गुमाउँदा एउटा पनि पर्यटक नमरेको कुरा भन्न किन डराउने ? कम्बोडिया र श्रीलङ्काको युद्धमा कति मान्छे मरे, नेपालको कहाँ छैन सुरक्षा, सय प्रतिशत सुरक्षा छ ।’ यथार्थ स्वीकार गर्दै राम्रा कुरालाई अगाडि ल्याउन सुझाव दिँदै उहाँले भन्नुभयो, ‘अहिले पनि एउटा विदेशी महिला एक्लै लौरो टेकेर गाउँगाउँ घुमिरहेकी छिन्, उनीमाथि कसैले प्रश्न गर्दैन, उनी पूर्ण सुरक्षित छिन् ।’
नेपालको पूर्वदेखि पश्चिमसम्म नै अथाह पर्यटकीय सम्भावना बोकेको ठाउँ रहेको उहाँले बताउनुभयो । मन्त्री भट्टराईले स्वागत सत्कारका हिसाबले नेपालीहरु विश्व मै अगाडि रहेको समेत बताउनुभयो । उहाँले कुनै पर्यटक समस्यामा परे सरकारले तत्कालै एक्सन लिने र उनीहरुलाई सुरक्षित पार्ने गरी तयारीमा रहेको जानकारी गराउनुभयो । अन्नपूर्णको हिमपहिरोमा परेका सबैलाई तुरुन्तै उद्धार गरेको र सात जना अझै हराइरहेका भन्दै मन्त्री भट्टराईले चाइनिज चढेको बस चितवनमा दुर्घटना हुँदा पनि तुरुन्तै उद्धार गरी अस्पतालमा लगेर उपचार गराएको जानकारी दिनुभयो ।
हाम्रो कारणले अन्तर्रा्ष्ट्रियस्तरमा नकारात्मक सन्देश नजाओस् भन्नेमा सरकार सचेत रहेको पनि उहाँले बताउनुभयो । कार्यक्रममा पर्यटन व्यवसायी ईरा प्रसाईले पर्यटन विकासका लागि सेवा सुविधाको विस्तार र पूर्वाधार निर्माण जरुरी रहेको औँल्याउँनुभयो । उहाँले गुणस्तरीय पर्यटक भित्र्याउनका लागि सरकारी पहल जरुरी रहेको बताउनुभयो ।
पर्यटन विज्ञ प्रचण्डलाल श्रेष्ठले विदेशीसहित आन्तरिक पर्यटनको विकासका लागि सरकारले छुट्टाछुट्टै नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । नेपालमा पर्यटकीय क्षेत्र हो भनेर मात्रै नहुने बताउँदै उहाँले पर्यटकका लागि मनोरञ्जन लिने ठाउँ हुन जरुरी रहेको उल्लेख गर्नुभयो । संस्कृति र प्रकृतिले मात्रै पर्यटन विकास हुन नसक्ने जिकिर गर्दै उहाँले त्यसमा आकर्षण गर्नसक्ने प्रस्तुतीकरण जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा पर्यटनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा सागरराज शर्माले पर्यटनसम्बन्धी उपयुक्त नीतिको जरुरी रहेको औँल्याउँदै कमजोरी पत्ता लगाएर सुधार आवश्यक हुने बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
इंग्ल्याण्डबाट घुम्न आएका पर्यटक मृत भेटिए
नयाँ वर्षसँगै बढ्यो पर्यटकको चहलपहल, व्यवसायी उत्साहित
कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण
अब रारामा पर्यटक प्रहरी रहने
जनवरीमा करिब ८० हजार पर्यटकले गरे नेपाल भ्रमण
६ महिनामा एक लाख बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज