नारायणी नदी किनारमा जेष्ठ नागरिक मिलन केन्द्रको उद्घाटन

सफल खबर संवाददाता

मंगलबार, २२ पुस २०७६, १७ : ४१
नारायणी नदी किनारमा जेष्ठ नागरिक मिलन केन्द्रको उद्घाटन

चितवन । नारायणगढ नारायणी नदी किनारमा रहेको हरिहर मन्दिर परिसरमा जेष्ठ नागरिक मिलन केन्द्रको उद्घाटन भएको छ ।

हरिहर मन्दिर नारायणगढको ३८ औं वार्षिक साधारण सभाको अवसरमा हरिहर मन्दिर र नारायणी सामाजिक विकास समितिद्धारा सञ्चालन गरिएको जेष्ठ नागरिक मिलन केन्द्रको उद्घाटन गरिएको हो ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले केन्द्रको उद्घाटन गर्नु भएको हो । उद्घाटन गर्दै उहाँले पछिल्लो समयमा जेष्ठ नागरिकहरु अपहेलित हुन थालेको बताउँदै जेष्ठ नागरिकलाई सबैले उच्च सम्मान गर्नु पर्ने बताउनु भयो । मन्दिर परिसरमा रहेको जेष्ठ नागरिक मिलन केन्द्रले जेष्ठ नागरिकहरु भेला भई आफ्ना सुखदुखका कुराहरु साटासाट गर्न सहज हुने बताउनु भयो । सरकारले गर्नु पर्ने काम स्थानीयहरुले गरी महानगरलाई सहयोग गरेको भन्दै उहाँले आभार प्रकट गर्नु भयो । 

मेयर दाहालले महानगर पनि जेष्ठ नागरिकको हितका लागि जेष्ठ नागरिक कल्याणकारी कामहरु थालनी गर्न लागेको बताउनु भयो । जेष्ठ नागरिकको अनुभव, सल्लाह सुझाव र आर्शिवादले नयाँ पुस्तकालाई सही मार्गमा अगाडि बढ्न पे्ररणा मिल्ने बताउँदै यस्तो पुण्य काम गरेकोमा हरिहर मन्दिर र नारायणी सामाजिक विकास समितिलाई आभार प्रकट गर्नुभयो । 

कार्यक्रममा वडा नम्वर १ का वडा अध्यक्ष जय राम श्रेष्ठले मन्दिरको संरक्षणका लागि महानगरले बजेट छुट्याउनु पर्ने बताउँदै मेयर दाहालसँग बजेट निकासा गर्न माग गर्नुभयो । 

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले उद्योग वाणिज्य संघ र मन्दिर सधैं सहकार्य गरी अगाडि बढिरहेको बताउनु भयो । 
कार्यक्रम मन्दिरका अध्यक्ष महेन्द्रलाल प्रधानको अध्यक्षतामा भएको हो ।  

प्रतिक्रिया दिनुहोस