अपराध नियन्त्रणमा ‘स्विप अपरेशन’, प्रहरी शुद्धिकरणमा ‘अडिट टिम’ :  डिआईजी पोखरेल एक्सन

सफल खबर संवाददाता

मंगलबार, २२ पुस २०७६, ०८ : ३१
अपराध नियन्त्रणमा ‘स्विप अपरेशन’, प्रहरी शुद्धिकरणमा ‘अडिट टिम’  :  डिआईजी पोखरेल एक्सन

काठमाडौँ । समग्र उपत्यकाको शान्ति सुरक्षाको जिम्मेवारी बोकेको महानगरीय प्रहरी कार्यालय रानी पोखरी अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न आक्रामक ढंगले प्रस्तुत भएको छ ।

कार्यालयको निर्देशनमा मातहत रहेको काठमाडौँ उपत्यकाको तीनै जिल्लाका प्रहरी कर्मचारीहरुलाई रात र दिनमा परिचालन गरी अपराध नियन्त्रणमा ‘स्वीप अपरेशन’ चलाएको छ भने प्रहरीको आन्तरिक शुद्धिकरणका लागि भन्दै ‘परफरमेन्स अडिट टिम’ समेत गठन गरेको छ । 

कार्यालयको जिम्मेवारी सम्हालेलगत्तै प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले शान्ति सुरक्षा कायम गर्न पहिलो त प्रहरी नै सुध्रिनु पर्ने आवश्यकता भएकाले परफरमेन्स अडिट टिम तयार गरेर प्रहरीको कामकारवाहीको मुल्याङकन थालिएको बताए । टोलीको नेतृत्व प्रहरी उपरीक्षक रेवती ढकालले गरेका छन् । 

टोलीलाई प्रहरीको आचरणदेखि कामकारवाही र शान्ति सुरक्षामा खेलेको भूमिकाको सबै मुल्याङ्कनको जिम्मा दिइएको छ । मुल्याङ्कनमा कमजोर भएर पहिलो पटक सच्चिने मौका दिने र पटकपटक दोहोरिएमा कारवाही हुने पोखरेलले बताए ।

जिम्मेवारी सम्हालेको महिना नपुग्दै उनले मातहतका प्रहरी कर्मचारीहरुलाई ठाडो निर्देशन दिँदै कुनै लोभलालचमा नपर्न र जिम्मेवारी पूर्ण रुपमा निर्वाह गर्न भनेका छन् । उनले सँगै मेसको खाना खानसमेत माथिल्लो दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

रातीसमेत उनी आफैंँ सक्रिय भएर मातहतका प्रहरीलाई परिचालन गर्ने गरेको एक महानगरीय प्रहरी वृत्तका प्रमुखले बताए । पोखरेलले वृत्त प्रमुखहरुलाई बोलाएर राती १२ बजे समेत बैठक राखेको उनले अनुभव सुनाए । ‘राती कति बेला कुन वृतको आकस्मिक निरीक्षण हुन्छ, कसैलाई थाहा हुँदैन, त्यसकारण मातहतका प्रहरी प्रमुख हाई अलर्टमा बस्ने गरेका छन्,’ ति वृत्त प्रमुखले भने ।

अहिले उपत्यकामा जवानदेखि एसएसपीसम्म सबै डिउटी फुल भएर काम गरेको देखेको एक प्रहरी अधिकृतले बताए । यस्तै सुरक्षा प्रमुख आउने हो भने शान्ति सुरक्षामा धेरै सुधार हुने बताउँदै अहिलेको अडिट टिमका कारण छलछाम गर्ने प्रहरीहरु सक्रिय हुन थालेको अनुभव सुनाए ।

दुई दिन अघि मात्रै उनले आवश्यकता नदेखेको भन्दै कार्यालय मातहतमा रहेको घुमुवा प्रहरीलाई खारेज गरेका थिए । महानगरीय प्रहरी कार्यालयका अनुसार राती र दिनमा समुहमा प्रहरी परिचालन गर्ने गरेकाले केही दिनदेखि उपत्यकामा चोरीका घटना भएका छ्रैनन् । अन्य आपराधिक गतिविधिमा समेत कमि आएको छ । 
 

प्रतिक्रिया दिनुहोस