विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि महानगरले राम्रो बजेट छुट्याउछ : मेयर दाहाल

सफल खबर संवाददाता

सोमबार, २१ पुस २०७६, २२ : १७
विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि महानगरले राम्रो बजेट छुट्याउछ : मेयर दाहाल

चितवन । कविलास माध्यमिक विद्यालय भरतपुर–२९, जुगेडीले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । २०२२ सालमा स्थापना भएको विद्यालयले सोमबार ५५ औं वािर्षकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

वार्षिकोत्सव कार्यक्रमको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उदघाटन गर्दै सामुदायिक विद्यालयको समस्या आफूले राम्रोसँग बुझेको भन्दै यसको समाधानमा महानगर लागेको बताउनुभयो । उहांले कविलासजस्तो समस्या भएको विद्यालयमा शैक्षिक तथा भौतिक विकासका लागि महानगरले बजेटमा राम्रो बजेट व्यवस्था गरेको उल्लेख गर्नुभयो । उहांले यस विद्यालयको लागि आगामी बैशाख पहिलो सातासम्म एउटा स्कूल बस कविलास माविमा महानगरले प्रदान गर्ने बताउनुभयो ।

वार्षिकोत्सवको अवसर पारेर विद्यालयमा आज आयोजित कार्यक्रममा वर्षभरि गरिएका अतिरिक्त क्रियाकलाप तथा वार्षिकोत्सव खेलकुद कार्यक्रम एवं शैक्षिक गतिविधिका सर्वोत्कृष्ट विद्यार्थी तथा उत्कृष्ट नतिजा हासिल गर्ने शिक्षकहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विकास गुरुङको अध्यक्षता तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा पूर्व स्थानीय विकासमन्त्री केशवलाल श्रेष्ठ, भरतपुर–२९ का वडाध्यक्ष मनबहादुर मगर, नगर शिक्षा अधिकारी सीताराम कोइराला, संस्थापक धनकीलाल गुरुङ, पूर्व अध्यक्ष टेकबहादुर गुरुङ, इन्द्रेणी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष क्याप्टेन सूर्यबहादुर गुरुङ, छात्रवृत्ति अक्षयकोष संस्थापक रामबहादुर भुजेल, शिक्षक प्रतिनिधि नवराज पोखरेल, विद्यार्थी विनिता तामाङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कविलास माध्यमिक विद्यालय भरतपुर महानगरपालिकाको वडा नम्बर २९ को एक मात्र माध्यमिक विद्यालय हो । यहाँ कक्षा १२ सम्म पढाइ हुन्छ । झण्डै ७ सय जना विद्यार्थी रहेको विद्यालयको तथ्यांक छ । विद्यालय राजमार्गसँगै भए पनि यहाँ पढ्न आउने विद्यार्थीको घरचाहिँ विकटमा छ ।

 

प्रतिक्रिया दिनुहोस