विदेशमा रहेका नेपाली विज्ञलाई फर्काउँदै सरकार, केही विज्ञले काम थाले

सफल खबर संवाददाता

आइतबार, २० पुस २०७६, १८ : ४४
विदेशमा रहेका नेपाली विज्ञलाई फर्काउँदै सरकार, केही विज्ञले काम थाले

काठमाडौँ । सरकरले विदेशमा सिकेको सीप र ज्ञानलाई स्वदेश फर्काउने प्रयास थालेको छ । समृद्ध नेपाल निर्माणका लागि सरकारले परराष्ट्र मन्त्रालयमार्फत विदेशमा रहेका नेपाली विज्ञलाई स्वदेश फर्काउन लागेको हो । उनीहरुलाई स्वदेश मै प्रयोग गराएर मुलुकले लिएको समुद्ध नेपाल खुसी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्ने लक्ष्यतर्फ सरकार अघि बढेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको भनाइ छ ।

परराष्ट्र मन्त्रालय अन्तगर्त स्थापना भएको ब्रेन गेन सेन्टरले विदेशमा नेपालीले आर्जन गरेको ज्ञान सीप स्वदेश भित्र्याउन आफ्नो सक्रीयता बढाएको छ । 

स्वदेशमा अवसर नभएको भन्दै युवापुस्ता विदेशिने क्रम नरोकिएका बेला उक्त प्रयासलाई आर्थिक क्षेत्रका जानकारहरुले सकारात्मक रुपमा लिएका छन् । 

विदेशमा पढेर काम गरिरहेका विभिन्न पुस्ताले समेत स्वदेशका लागि काम गर्ने बाटो पहिल्याउन सकिरहेका छैनन् । अहिलेपनि मुलुकबाट दैनिक १५ सयको हाराहारमिा युवाहरु विदेश पलायन भइरहेका छन् । सरकरी आँकडामा झण्डै ४३ लाख नेपाली विदेशमा श्रम गरिरहेका छन् । 
कतिपय उच्च पदमा र विज्ञका रुपमा काम गरे पनि उनीहरु अवसर नहुने भन्दै नेपाल भित्रिन सकेका छैनन् । त्यसमा सरकारले उचित वातावरण नबनाएको गुनसो पनि छ । 

तर पछिल्लो समया सरकारले भने केही तदारुकता देखाएको छ । विदेशी ज्ञान र सीप देशको विकासमा खर्च गराउने माध्यमका रुपमा स्थापना भएको ब्रेन गेन सेन्टरमा आवद्ध केही नेपाली मूलका विदेशी विज्ञले भने स्वदेशमा काम थालिसकेका छन् । 

ब्रेन गेन इनिसियटिभका नाममा आवद्ध अमेरिकामा रहेका नेपाली समुहले स्वदेशमा काम थालेको हो । यसमा आवद्ध अधिकांश विज्ञ मन्त्रालयको ब्रेन गेन सेन्टरमा आवद्ध छन् । 

भविष्यमा ब्रेन गेन सेन्टरसँग जोडिएर कामलाई अघि बढाउने लक्ष्यसहित इनिसियटिभ्स गठन भएको विज्ञ डा. केशव भट्टराई बताउँछन् । उनका अनुसार शिक्षा क्षेत्रको सुधार तथा गुणस्तरीय शिक्षाका लागि स्वयंसेवी शिक्षक परिचालन गरी विज्ञले काम थालेका छन् ।

गुल्मी र गोरखामा थाल्यो काम 
सुरुवाति चरणमा गुल्मी र गोरखाका विद्यालयमा विज्ञले काम थालेका छन् । यसपश्चात चितवन र गण्डकी क्षेत्रको जिल्लाका विद्यालय र सामुदायिक कृषि क्षेत्रमा काम थाल्ने विज्ञले तयारी गरेको जानकारी अमेरिकाबाट नेपाल आएका विज्ञ डा. सतिश देवकोटाको भनाई छ ।

हालैमात्र परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीको अध्यक्षतामा बसेको एक बृहत भेलामा विदेशमा रहेका नेपाली विज्ञले आफ्नो सीप र ज्ञान नेपालमा प्रयोग गर्ने अवसरको खोजी विदशेमा बस्ने नेपालीले गरिरहेको बताएका थिए । मन्त्री ज्ञवालीले नेपालको विकासमा हातेमालो गर्दै अघि बढ्नका लागि विदेश पलायन भएको मानवपूँजी नेपालमा फिर्ता गराउन आफूले भूमिका खेल्ने भन्दै फर्कन आह्रवान गरेका छन् । 

भेलामा सहभागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको रुपान्तरण हुने गरी गरिन थालेको विकासका काममा सघाउन तयार रहेको बताएका थिए ।

विज्ञहरुले स्वास्थ्य, वातावरण, शहरी विकास, शिक्षा, कृषिक्षेत्र, जलस्रोत लगायत विविध क्षेत्रमा विदेशमा रहेका दक्ष मानव पूँजी परिचालन हुन सक्ने औँल्याएका छन् । 

नेपालका अर्थविद स्वर्णिम वाग्ले, विमल कोइराला, डा. शंकर शर्मा, डा. सूर्यराज आचार्य लगायतले ब्रेन गेन सेन्टरलाई सबैको साझा धरोहरका रुपमा स्वायत्त निकायका रुपमा अघि बढाउन सुझाव दिएका छन् । 

ब्रेन गेन सेन्टरमार्फत देशको आर्थिक विकासमा साझा सहमति गरेर अघि बढ्न सरकार र मन्त्रालयलाई विज्ञले सुझाव दिएका छन् । मन्त्री ज्ञवालीले सरकारले विकासमा संलग्न विभिन्न निकायसँग विदेशी विज्ञलाई जोड्न पुलको रुपमा काम गर्ने आश्वासन दिएका छन् । 

आर्थिक स्रोतको तत्काल सरकार आफैले गर्ने र नपुगेका खण्डमा भविष्यमा खोजी गर्ने गरी ब्रेन गेनलाई अगाडि बढाईंदै छ । एनआरएनएलाई समेत सँगै लिएर अघि बढ्दा पाँच हजारभन्दा बढी विज्ञ तत्काल देशका लागि काम गर्न सेन्टरमा आवद्ध हुन सक्ने अनुमान छ ।  

ब्रेन गेन सेन्टरमा आवद्ध विज्ञ परिचालन गर्न मन्त्रालयमा आएका सुझाव अनुसार कार्ययोजना बनाएर अघि बढ्ने प्रयास भइरहेको मन्त्रालयका सहसचिव कुमारराज खरेलले बताए । 
 

प्रतिक्रिया दिनुहोस