धनुषामा ३ जनाको ज्यान जानेगरि विष्फोट गराउने (नेकपा) विप्लवका नेता पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १८ पुस २०७६, १२ : १८
धनुषामा ३ जनाको ज्यान जानेगरि विष्फोट गराउने (नेकपा) विप्लवका नेता पक्राउ

file photo

जनकपुर । एक प्रहरी निरिक्षक सहित ३ जनाको ज्यान जाने गरि धनुषाको महेन्द्रनगरमा भएको बम बिष्फोटको २२ दिन पछि विप्लब नेतृत्व निकट एकजना नेता पक्राउ परेका छन् ।

घटनाको मुख्य योजनाकार मानिएका नेकपाका नेता आदम राइनलाई प्रहरीले  पक्राउ गरेको छ । राइनलाई प्रहरीले मोस्ट वान्टेडको सूचीमा राख्दै खोजी तिब्र पारेको थियो । राइनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको स्रोतले जनाएको छ । 

महेन्द्रनगरमा सो बम विष्फोटनका घटना भए लगत्तै फरार रहेका आदम राइनलाई धनुषा प्रहरीले घटना घटेको करिब ३ हप्ता पछि पक्राउ गर्न सफल भएको छ । प्रहरीका अनुसार अभियुक्त राइन विप्लव नेतृत्व नेकपाको केन्द्रीय सदस्य समेत रहेको खुलेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित सखुवा महेन्द्रनगर बजारमा रहेको एक घरको मूलढोकामा टाइम बम झुण्ड्याइ विष्फोट गराउदा प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित ३ जनाको मृत्यु भएको थियो ।

बम विष्फोटमा परेर घरमुलि राजेश साह र आनन्द साह र प्रहरी निरीक्षक दाहाल ज्यान गएको थियो । गत मङ्सिर २७ गते भएको घटनामा संलग्न राईन मुख्य योजनाकारसहित ९ जनाको पहिचान भइसकेको प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रद्मकुमार कार्कीले बताएका छन् ।  

कार्कीले अभियुक्त आदम पक्राउ बारे केहि बोलेन चाहेनन् । राइन पक्राउ परेको धनुषा प्रहरीले आधिकारिक जानकारी नदिए पनि  अभियुक्त आदमलाई पक्राउ गर्न सफल भएको स्रोतको दाबी छ । 
 

प्रतिक्रिया दिनुहोस