उवासंघ चितवनमा गोलाप्रथा : राजुले अध्यक्षमा र चुननारायणले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने

विहीबार, १७ पुस २०७६, १७ : १५
उवासंघ चितवनमा गोलाप्रथा : राजुले अध्यक्षमा र चुननारायणले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने

चितवन । उद्योग वाणिज्य संघ चितवनमा आन्तरिक सहमति गरेर गोलाप्रथा गरिएको छ । गोलाप्रथाअनुसार अध्यक्षको दावेदार बनेका राजु श्रेष्ठ अध्यक्षमा उम्मेदवार दिने भएका छन् भने अर्का अध्यक्षको दावेदार बनेका हालका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा उम्मेदवार दिने भएका छन् । 

‘आन्तरिक सहमतिअनुसार गोलाप्रथा गरियो, गोला थुत्दा अध्यक्षको उम्मेदवार दिने हक राजु श्रेष्ठले पाए भने हालका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले सोही पदमा नै उम्मेदवार दिने हक भयो’ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले भन्नुभयो । 
उहाँका अनुसार निर्वाचनको सम्पूर्ण पक्रिया चल्ने छ । पूर्वअध्यक्षहरु, वर्तमान कार्यसमिति, वस्तुगतका प्रतिनिधि सबै बसेर आन्तरिक छलफलबाट गोलाप्रथा गरिएको उहाँले बताउनुभयो । 

‘यसको मतलब अन्य कसैले पनि वरिष्ठ उपाध्यक्षमा वा अध्यक्षमा दावी गर्न नपाउने भन्ने होइन, तर आन्तरिक सहमति भएको हुनाले सो पदमा अन्यको दावी रहँदैन भन्ने हाम्रो भनाइ हो’ उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । गोला आफ्नो पक्षमा नपरेपछि अध्यक्षमा उम्मेदवारी नदिने चुननारायणको भनाइ छ भने गोला आफ्नो पक्षमा परेकाले अध्यक्षमा उम्मेदवारी दिने राजुको भनाइ छ । 

उवासंघ चितवनको सदस्यता नविकरणका लागि १ दिनको समय  छ । मतदानको अधिकार प्राप्त ४४ सय सदस्यमध्य ३५५० जनाले नविकरण गरेका छन् ।  संघको ५३ औं साधारणसभा तथा अधिवेशन पुस २८ र २९ गते हुने छ । 

प्रतिक्रिया दिनुहोस