चितवन । निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा निर्माणमा सक्दो सहयोग सबैले गरिरहेकै बेला चितवन प्रहरीले पनि श्रमदान शुरु गरेको छ । श्रमदान गर्नकै लागि जिल्ला प्रहरी कार्यालय चिवनका २ सय बढी प्रहरी रंगशालामा पुगेर श्रमदान गरेका छन् । प्रहरीहरु रंगशालामा निर्माणका काममा विभिन्न कामहरु गरेका छन् ।
श्रमदान गर्न जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लको नेतृत्वमा टोली रंगशाला पुगेको थियो । ‘प्रहरीले गर्न सक्ने काम गर्ने गरेका छौँ, प्रहरी उपरीक्षक मल्लले भन्नुभयो, ‘रङ्गशाला निर्माण सम्पन्न नभएसम्म श्रमदान जारी रहने र हामीले सकेको सहयोग गर्न तयार छौँ ।’ प्रहरी टोलीले मुख्य कालोपत्रको ‘स्वेलिङ’का लागि ढुङ्गा भर्ने काम गरिरहेको छ । रङ्गशालामा बन्ने सबैभन्दा ठूलो रङ्गशाला र कालोपत्र रहने ठाउँको काम भइरहेको छ । कमलको फूलको आकृतिमा बन्ने रङ्गशालाको ‘स्वेलिङ’को काम सकिएर डिपिसीको काम भइरहेको धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिनुभयो ।
कट्टेलका अनुसार निर्माणमा खर्चको अधारमा रकम सङ्कलन गर्न सकिएको छैन । रङ्गशाला निर्माणका लागि सहयोग आउने क्रम जारी रहे पनि अपर्याप्त भएको उहाँको भनाइ छ । रङ्गशालाको काम युद्धस्तरमा बढेको छ । दैनिक रु १० लाख खर्च लाग्ने गरी काम अघि बढाइएको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणमा केही ढिलाइ भएको भए पनि अहिले रङ्गशालको काम तीव्ररूपमा अघि बढिरहेको छ ।
निर्माणकार्यले गति लिएपछि रङ्गशाला अवलोकन गर्नुका साथै आर्थिक सहयोग आउने क्रम बढेको अभियानकर्मी अर्जुन भुषाल बताउनुहुन्छ । रङ्गशालालाई श्रमदान, आर्थिक सहयोग, निर्माण सामग्री उपलब्ध गराएर सहयोग गर्न सकिने फाउण्डेशनले व्यवस्था मिलाएको छ । रंगशालाको पहिलो चरणमा खेल मैदान निर्माण र माटो प्रशोधन लगायतका कामहरू भइरहेको छ ।
निर्माणमा हाल दैनिक ३ सय जनाको हाराहारीमा श्रमदान मार्फत काम भईरहेको छ । निर्माण स्थलमा उपस्थित सर्वसाधारणले भने रंगशाला निर्माणले देशै भरि उभार आएको र आफुहरु निकै उत्साहित बनेको बताए । रंगशाला निर्माणमा सबैले सहयोग सदभाव व्यक्त गरिहेकै बेला गत शुक्रबार नेकपाका अध्यक्ष प्रचण्डले पनि स्थलगत अवलोकन गर्नुभएको थियो ।
अवलोकनको क्रममा निर्माणाधिन रंगशाला राष्ट्रकै गौरवको आयोजना भएकोले यसको निर्माण सबैले सहयोग गर्नुपर्ने बताउनुभएको थियो । उहांले यसको निर्माणमा पार्टी र सरकारबाट सक्दो सहयोग जुटाउने उल्लेख गर्नुभएको थियो । रंगशाला निर्माणको कामले तिव्रता पाएसँगै अवलोकन गर्नेहरुको पनि घुँईचो लाग्न थालेको छ । रंगशाला हेर्नकै लागि विभिन्न जिल्लाबाट सर्वसाधारणहरु आउन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस