मृग वर्गको बिदाई र मुसा वर्गको स्वागतमा जुटे गुरुङ समुदाय

सफल खबर संवाददाता

मंगलबार, ०८ पुस २०७६, १५ : ५१
मृग वर्गको बिदाई र मुसा वर्गको स्वागतमा जुटे गुरुङ समुदाय

चितवन । गुरुङ समुदायको नयाँ वर्ष ल्होसार (पुस १५) मा मृग वर्गको बिदाई र मुसा वर्गको स्वागत हुँदैछ । १२ वटा वर्गमध्ये एउटा वर्ग एक वर्ष कायम रहन्छ । गुरुङ समुदयले हर्षोल्लासका साथ हरेक वर्ष पुस १५ गते ल्होसार पर्वमा विविध कार्यक्रमको आयोजना गरी पुरानो वर्गको बिदाई र नयाँ वर्गको स्वागत गर्छन् ।

तमू ल्होसार पर्व मूल समारोह समिति चितवनले मंगलबार तीनखोले गुम्बा भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी ल्होसार कार्यक्रमको आयोजनाबारे जानकारी दिएको छ । आयोजक समितिका संयोजक गणेशबहादुर गुरुङले पुस १४ गते मध्यरातमा मृग वर्गको बिदाई र पुस १५ गते बिहान मुसा वर्गको स्वागत गरिने बताए । उनका अनुसार पुस १२ गते तीनखोले गुम्बा परिसर सरसफाई, १३ गते चियापान र १४ गते विभिन्न खेल प्रतियोगिता हुनेछ ।

ल्होसार पर्व सम्पन्न गर्न तीन लाख ३० हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । स्वेच्छिक चन्दा र प्रायोजबाट खर्च जुटाइने संयोजक गुरुङले बताए । ल्होसार पर्व आयोजनाको लागि एक सय एक सदस्यीय मूल समारोह समिति र २६ वटा उपसमिति गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस