उद्योगको ढल मानव बस्तीमा

बोटलर्स नेपाल र माउण्ट एभरेष्ट ब्रुअरीको दादागिरीले स्थानीयवासी चिन्तित

प्रकाश सिग्देल

आइतबार, ०६ पुस २०७६, १२ : १३
उद्योगको ढल मानव बस्तीमा

चितवन । भरतपुर महानगरपालिकाको गोन्द्राङमा रहेका दुई ठूला उद्योग बोटलर्स नेपाल तराई लिमिटेड र माउण्ट एभरेष्ट ब्रुअरी प्रालिले वातावरण प्रदूषण बढाइरहेका छन् । उद्योगको ढल सिधै मानव बस्तीसम्म पुग्ने गरी विसर्जन गर्दै आएका यी दुबै उद्योगको दादागिरी प्रशासन र महानगरले समेत रोक्न सकेको छैन ।

माउण्ट एभरेष्ट ब्रुअरी प्रालि भरतपुर चितवनले बोतल पखालेको केमिकलदेखि उद्योगको ढल बस्तीमा बगाउन थालेपछि स्थानीयहरु चिन्तित बनेका छन् । कारखानाका संचालकलाई स्थानीयले बारम्बार बस्तीमा ढल नबगाउन आग्रह गर्दा पनि त्यसलाई कुनै सुनुवाइ नगर्ने र उल्टै स्थानीयलाई नै धम्काउने गरेको हरि मर्हजनले बताए । महर्जन बेलाबेलामा समस्या समाधानका लागि कारखानामा धर्ना, आन्दोलन समेत गरेपनि व्यवस्थापनले कुनै सुनुवाई नगरेको गुनासो गर्छन् । 

कारखानाको अगाडिको बस्तीमा त्यसले प्रत्यक्ष असर नपरे पनि पछाडिको बस्तीमा रहेका घरमा बस्न नसकिने अवस्था रहेको छ । उनले आफूहरुको यो समस्या समाधानका लागि धेरै निकाय धाए पनि कसैले सुनुवाई नगरेको बताए । कारखानाले बोतल पखालेर फालेको एसिडयुक्त पानीका कारण खेतमा लगाईएको धानमा समेत असर पुगेकाले झन ठुलो तनावमा परेको स्थानीय किसानहरु गुनासो गर्छन् । 

जग्गा भाडामा लिएर धान खेती गरेको गरेको १ महिना हुन नपाउँदै पुरै कारखानाको पानीले धान मर्ने र एक सिजनमा ३ पटकसम्म धान रोप्नु पर्ने स्थानीयको दुखेसो छ । समस्या स्थानीय तहका जनप्रतिनिधिलाई राख्दा पनि सुनुवाई नभएको उनीहरु गुनासो गर्छन् । यो क्षेत्रमा कारखानाले गरेको हानि नोक्सानी बयान गरेर साध्य नभएको उनीहरुको भनाई छ । 

‘कारखानाले फालेको पानी जहाँजहाँ बग्छ, त्यहाँ केही पनि खेती नहुने, किरा लाग्ने झार समेत मर्ने गर्छ’ स्थानीय रिता धमलाले भनिन्, ‘हरेक दिन कारखानाका कारण तनावमा बस्ने गरेको र साना साना बाल बच्चा दिनहुँ बिरामी हुने गरेको छ ।’ 

‘घरमा नँया पाहुना आए के हो, दिशा गन्हाए जस्तो भनेर भन्ने र बस्नै नसक्ने जस्तो हुन्छ’ उनले भनिन्, ‘कारखानाका कारण घरमै बस्न नसकिने अवस्था छ ।’ कारखानाले ढल फाल्ने नाममा सानो पाईप हालेर त्यही पाईप मार्फत ढल लगेर स्थानीय केरुगं घोलमा बगाएको छ । त्यही पाईपबाट ढल नअटेपछि बस्तीमा दुर्गन्ध बढेको छ । वर्षातमा कारखानाको फोहोर पानी घरघरमै पस्ने गरेको स्थानीयहरु बताउँछन् ।

कारखानाको फोहार पानी सिधै घोलमा बगाउँदा त्यसले त्यस वरपर रहेका जलचर, थलचर, जीवजन्तु र बनस्पतिलाई ठुलो असर परेको संरक्षणकर्मीको भनाई छ । कारखानाले वातावरण संरक्षण र समाजमा नै नकारात्मक असर पु¥याएकोले कारबाही गर्नुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया दिनुहोस