मस्ट वान्टेड मुखिया गुरुङलाइ शुक्रवार भारतले सुपुर्दगी गर्दै

शुक्रबार, २६ माघ २०७४, ०९ : १८
मस्ट वान्टेड मुखिया गुरुङलाइ शुक्रवार भारतले सुपुर्दगी गर्दै

काठमाडौं । नेपालबाट भागेर भारत पुगेका हुन् या भारतमा अपराध गरेर नेपाल छिरेका । त्यस्ता अपराधीहरु पक्राउ गरेर प्रहरीले गोप्य रुपमा एक-अर्कालाई बुझाउँदै आएको छ । तर, शुक्रबार यस्तो एक अपराधीको ‘लेनदेन’ हुँदैछ, जुन दुई देशबीचको पहिलो वैद्य सुपुर्दगी हुनेछ ।

भारतले एक ‘मोस्ट वान्टेड’अपराधीलाई पक्राउ गरी आधिकारिक रुपमा नेपाललाई बुझाउँदैछ । जससम्बन्धी पत्रमा हस्ताक्षर गरेकी छन्, भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ।  

कर्तव्य ज्यान मुद्दामा फरार रहेका आतिनी भन्ने मुखिया गुरुङलाई शुक्रबार औपचारीक रुपमा सुपुर्दगी गरेर नेपाल ल्याउन लागिएको हो ।

१६  वर्षअघि ठमेलमा भएको एक घटनामा उनी फरार थिए । २०५८ साल कात्तिक १८ गते ठमेलको ‘जुली स्टुडियो ५४’ नामक डिस्कोमा गुरुङ लगायतका व्यक्तिहरुले सुवर्ण गुरुङको हत्या गरेका थिए ।

कर्मा गुरुङ, राजु घले, कर्मा शेर्पा लगायत व्यक्तिले धारिलो हतियार प्रयोग गरेर सुवर्णको हत्या गरेका थिए । घटनापछि फरार रहेका गुरुङलाई अदालतले जन्मकैद फैसला गरिसकेको छ । स्रोतका अनुसार गुरुङ मकाउमा बस्दै आएका थिए ।

डेढ महिनाअघि भारत हुँदै मकाउ जाने क्रममा उनी जयपुर एयरपोर्टमा पक्राउ परेका हुन् । नेपाल प्रहरीले गुरुङको पासपोर्ट नम्बर पत्ता लगाई इन्टरपोलको ‘ब्ल्याक लिस्ट’मा राखेको थियो। सोही आधारमा उनी विमानस्थलमा पक्राउ परेका थिए ।

पक्राउ परेपछि उनलाई सुपुर्दगीका लागि नेपाल प्रहरीले पहल गरेको थियो। अदालतको आदेशपछि सुपुर्दगीको बाटो खुलेको हो । दिल्ली उच्च अदालतले गुरुङलाई नेपालमा सुपुर्दगी गर्न आदेश दिएपछि प्रक्रिया सुरु भएको हो ।

‘दुई देशबीच अपराध अनुसन्धानमा यो ऐतिहासिक घटना हो,’ नेपाल प्रहरीका एक उच्च अधिकारी भन्छन्,‘खुला सीमा भएका दुई देशबीच यस्तो किसिमको सुपुर्दगी पहिले नै आवश्यक थियो ।  

पक्राउ पर्ने डरले गुरुङले भारतको विमानस्थल प्रयोग गरेका थिए । तर, इन्टरपोलसँगको सहकार्यमा नेपाल प्रहरी उनलाई पक्राउ गर्न सफल भएको हो ।

खुला सिमानाका कारण नेपाल र भारतका अपराधीहरु एकअर्काको देशमा लुक्ने गर्दछन् । दुई देशबीच सुपुर्दगी सन्धि गर्न पटकपटक पहल गरे पनि सफल हुन सकेको छैन । भारतले ऐनमा अनावश्यक सर्त राख्ने भएकाले सन्धि हुन नसकेको  हो ।

प्रतिक्रिया दिनुहोस