कस्तो छ त, प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था

मृगौलाले अहिले १० प्रतिशत पनि काम गरेको छैन , अब नियमित डायलसिस वा पून मृगौला प्रत्यारोपण विकल्प

सफल खबर संवाददाता

आइतबार, ०१ मंसिर २०७६, १० : ३९
कस्तो छ त, प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था फेरि चर्चामा छ । मृगौला रोग पीडित प्रधानमन्त्री ओलीको शनिवार गरेको रगत परिक्षण र पूनः डायलसिस पछि फेरि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा टिकाटिप्पणी शुरु भएको हो ।  तिहारयता प्रधानमन्त्री ओलीको तेश्रोपल्ट डायलसिस गरिएको छ ।

१३ र १४ कात्तिकमा ग्रान्डी अस्पतालमा डायलसिस गरेका प्रधानमन्त्रीले तेश्रो पटक शनिवार १७ दिनपछि पूनः डायलसिस गरिएको हो । डायलसिस पछि बेलुकी बालुवाटार फर्केका थिए । पार्टी बैठक बोलाउने, मन्त्रीपरिषद् पूर्नगठन गर्ने लगायतको आन्तरिक तयारीमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा फेरि देखिन थालेको ‘गडवडी’ ले नेकपाका शीर्ष नेताहरु बिच भईरहेको आन्तरिक छलफल ढिलाई हुने देखिएको छ ।

 १३ र १४ कात्तिकमा प्रधानमन्त्रीको १२ वर्ष अगाडी प्रत्यारोपण गरिएको मिर्गौलाबाट पिसाब थैलीमा जाने नली ‘ब्लक’ भएको देखिएपछि तत्कालै ‘स्टेन्ट’ राखिएको थियो । शनिवार त्यही ‘स्टेन्ट’ झिक्न प्रधानमन्त्री ओली अस्पताल पुगेका थिए । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा सर्वसाधारणलाई जानकारीबाट बिमुख बनाउने योजनामा लागेको ओलीको सचिवालय लागेर हरसम्भव लुकाउनै उद्दत देखिएको छ ।

बालुवाटारले ‘स्टेन्ट’ झिक्ने भनेको प्रधानमन्त्रीको स्वास्थ्य राम्रो हुदै गएको अर्थमा प्रचारवाजी गरेको थियो । चलनचल्तीमा त्यसरी राखिएको स्टेन्ट झिकिएको र त्यो झिकेपछि प्रधानमन्त्रीको समस्या समाधान भएको जसरी प्रचारवाजी छ । चिकित्सकहरुका भनाईमा, मिर्गौलाबाट पिसाब बाहिर निस्किने बाटो साँघुरो हुँदा ‘स्टेन्ट’ राखेर खुलाउने गरिन्छ । सो ‘स्टेन्ट’ले काम गरे,नगरेको निश्चित गर्न ओलीलाई शनिबार अस्पताल लगिएको थियो । तर, यो पद्धति फलदायी नभएको निष्कर्ष सहित शनिबार ‘स्टेन्ट’ निकालिएको हो । ओलीको स्वास्थ्य अवस्था सहज भएर ‘स्टेन्ट’ झिकिएको होइन । चिकित्सकहरुका भनाईमा त्यो फलदायी नभएर झिकिएको हो ।

 त्यसो हो भने अवको विकल्प के हो ? डाक्टरहरु अहिले छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको शनिवार नै गरेको रगत परिक्षणले पनि उनी स्वस्थ्य रहेको देखिएको छैन । शनिवार गरिएको प्रधानमन्त्रीको रगत परिक्षण रिपोर्टमा क्रियाटिनिनको मात्रा बढेर ६.३ मिलिग्राम देखिएको छ । यो भनेको मिर्गौलाले १० प्रतिशतभन्दा पनि कम काम गर्दै छ भन्ने बुझिने वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले वताउँछन् । ‘प्रधानमन्त्रीको उमेर अनुसार उहाँको मिर्गौलाले दश प्रतिशतभन्दा कम काम गरिरहेको देखिन्छ । ६.३ क्रियाटिनिन देखिएमा अब मिर्गौलाले काम गरिरहन सक्ने अवस्था देखिएन ।

बिरामीको भलाइका लागि नियमित डायलाइसिसमा बस्नुपर्छ अथवा प्रत्यारोपणमा गइहाल्नुपर्छ । औषधि मात्रै खाएर बस्दा स्वास्थ्य राम्रो हुँदैन,’ डा. काफ्ले भन्छन् । उनका अगाडी दुई मात्र विकल्प देखिए, – पहिलो नियमित डायलसिसमा बस्ने, दोश्रो पूनः मृगौला प्रत्यारोपण गर्ने ।

यी दुई विकल्पमात्र प्रधानमन्त्री ओलीसँग अहिले छ । तर ओलीलाई रोगले दिनँहु आक्रमण बढाउँदै लगेको छ , उनी भने आफु स्वस्थ्य रहेको मनोबल देखाईरहेका छन् । आराममा बस्नुपर्ने ओली अझै ब्यस्त दैनिकीमा आफुलाई हिडाईरहेका छन् ।उनी पून मृगौला प्रत्यारोपणको भित्री तयारीमा छन् । उनका निजि चिकित्सक डा. दिब्या सिंह्ले अमेरिका पुगेर पूर्न मृगौला प्रत्यारोपणका विषयमा विभिन्न देशका चिकित्सकहरुसँग परामर्श गरेकी थिइन् ।

 ओलीलाई एकपटक गत भदौंमा प्लाज्मा फेरेसिस गरिएको सिंगापुरको नेशनल अस्पतालमा स्वास्थ्य जाँचका लागि लैजाने र त्यत्तैबाट अमेरिका लगेर उपचार गराउने योजना पनि बालुवाटारभित्र बन्दै गरेको स्रोत बताउछ्  । कहिले जाने भन्नेमा छलफल चलिरहेको स्रोत वताउँछ । ओली उपचुनाव अगाडी १०, ११ गते तिर नै उपचारका लागि विदेश जाने की उपचुनाव पछि भन्नेमा छन् ।

यो बीचमा पार्टी कामको जिम्मा अध्यक्ष प्रचण्डलाई दिने, सरकारमा कार्यवाहक प्रधानमन्त्रीको खोजी मन्त्रीपरिषद सम्म पूर्नगठन गरेर खोज्ने सम्मका काम गर्ने योजनामा छन् । यी काम सकेर ओली उपचारमा निस्कन लागेको वालुवाटार स्रोतले बताएको छ । पून मृगौला प्रत्यारोपण गर्दा कम्तीमा ३ देखि ५ महिना पूर्ण आराममा प्रधानमन्त्री ओली बस्नु पर्ने हुन्छ । त्यसो हुदा उनले कार्यवाहक प्रधानमन्त्रीका खोजी गरिरहेका छन् । अहिले उपप्रधान तथा रक्षामन्त्री समेत रहेका इश्वर पोखरेललाई नै जिम्मा दिएर जाने वा अन्य कुनै नेतालाई मन्त्रीपरिषद्को पूर्नगठनमा लगेर दिने भन्नेमा बालुवाटारमो गम्भिर मन्थन हुने गरेको बालुवाटार स्रोतले दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस