काठमाडौं । कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनमा विद्या भट्टराईको उम्मेदवारीले रवीन्द्रप्रसाद अधिकारीको जन्मस्थान भरतपोखरीवासी खुशी भएका छन् ।
“आफ्नो माटोमा जन्मे हुर्केर राजनीति उचाइमा पुगेको गाउँको लोकप्रिय छोरो गुमाउनुपरेको पीडालाई भुल्न गाह्रो भए पनि विद्याको उम्मेदवारीले केही खुशी ल्याएको छ ।” स्थानीयवासी ८० वर्षीया पूर्णकुमारी आचार्यले भन्नुभयो । “मैले जीतको शुभकामना दिएँ, विद्या हाम्री छोरी हुन्, अब राष्ट्रकै छोरी भएर सफल भएको देख्ने चाहन्छौँ”, आचार्यले भन्नुभयो ।
अर्का स्थानीयवासी ८५ वर्षीया वैकुण्ठनाथ आचार्यले पनि भट्टराईको उम्मेदवारीले खुशी भएको बताउनुभयो । “हामीले गुमाएको त पाउन सक्दैनौँ अब विद्याले हामी सबैले देखेको समृद्धिको सपना पूरा गर्न भूमिका खेल्नेछिन् । विद्याभित्र रवीन्द्र देखिरहेका छौँ”, उहाँले भन्नुभयो ।
अधिकारीको निधनपछि निराश स्थानीय बासिन्दा भट्टराईको उम्मेदवारीसँगै उत्साहित बनेका छन् । आफ्नो चुनावी अभियान शुरू गर्न गृहस्थान पुग्नुभएकी भट्टराईलाई स्वागत गर्दै उक्त ठाउँका बासिन्दाले अधिकारीको सपना पूरा गर्न र समग्र देशलाई समृद्धिपथमा अगाडि बढाउन आग्रह गरेका थिए । भट्टराईले अधिकारीलाई राजनीतिक उचाइमा पु¥याउन आफू पर्दा पछाडि बसेर राजनीतिक योगदान गरिरहेको बताउनुभयो । “आज पार्टीले त्यो योगदानको कदर गर्दै मलाई उम्मेदवार बनाएको छ, अब हजुरहरुले साथ दिनुस्”, भट्टराईले भन्नुभयो ।
कास्की क्षेत्र नं २ का जनताको भरोसा र विश्वासलाई कहिल्यै डगमगाउन नदिने भन्दै उहाँले सम्पूर्ण जनसमुदायलाई शोकलाई शक्तिमा बदलेर निर्वाचनको अभियानमा सरीक हुन आग्रह गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य भीम कार्कीले पार्टीकी क्षमतावान् र बौद्धिक नेत्री भट्टराई राजनीतिक चेत भएको कुशल उम्मेदवार भएको बताउनुभयो ।
उम्मेदवार व्यवस्थापन समिति संयोजक धनराज आचार्यले अधिकारीको सपना र विश्वास अगाडि बढाउन भट्टराईको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । अनेरास्ववियूका केन्द्रीय नेता रश्मि आचार्यले नेपाली राजनीतिक इतिहासमा अब्बल र समृद्धिका संवाहक अधिकारी गुमाए पनि उहाँको राजीतिक र नेतृत्वदायी गुण अब भट्टराईमा भेटिने जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २१ कार्तिक २०७६, २० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न आवश्यक : शिक्षामन्त्री भट्टराई
विश्वविद्यालयमा बन्द, हडताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य छैन : शिक्षामन्त्री भट्टराई
त्रिविको जग्गा छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुन्छ: मन्त्री भट्टराई
तिलगंगा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक छ: शिक्षामन्त्री भट्टराई
शिक्षामन्त्री भट्टराईद्वारा १०० दिने उपलब्धी सार्वजनिक
रोजगारीको अवसर नहुँदा युवाहरु पढ्न देश बाहिर जान थाले: शिक्षामन्त्री भट्टराई