भरतपुर महानगर सबै प्रकारका अपाङ्गहरुको जीवनयापन सहजीकरण गर्न प्रतिबद्ध : प्रमुख रेनु दाहाल

सफल खबर संवाददाता

आइतबार, १७ कार्तिक २०७६, १६ : २६
भरतपुर महानगर सबै प्रकारका अपाङ्गहरुको जीवनयापन सहजीकरण गर्न प्रतिबद्ध : प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिका सबै प्रकारका अपाङ्गहरुको जीवनयापनमा सहजीकरण गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ ।
आइतबार अपाङ्ग समाजको चितवनको २५ औं वार्षिक उत्सव तथा रजत जयन्तीको उपलक्षमा अपाङ्ग भएकाहरुलार्ई निःशुल्क ह्विलचियर तथा सहयोग सामग्री वितरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
भरतपुर महानगरपालिका अपाङ्गमैत्री महानगरपालिका निर्माणमा क्रियाशील रहेको बताउँदै कार्यक्रमकी प्रमुख अतिथि दाहालले अपाङ्ग समुदायको क्षेत्रमा सीप विकास, क्षमता विकास र सहज जीवनयापनमा सहयोग गर्न आवश्यक निती निर्माण गरिसकेको बताउनुभयो । उहाँले सो कार्यको लागि आवश्यक बजेटको व्यवस्था गरी कामहरु अगाडि बढाइरहेको बताउनुभयो । भरतपुर महानगरपालिकाले अपाङ्गता परिचयपत्र वितरणको काम गत वर्षदेखि सुरु गरेको बताउँदै उहाँले आउँदा दिनहरुमा अझै व्यापक बनाउँदै लगिने बताउनुभयो ।

प्रमुख दाहालले सहभागी अपाङ्गहरुलाई ह्विल चियर, सेतो छडी, तथा बैसाखी वितरण गर्दै  सात पालिकाका अपाङ्ग मित्रहरुलाई भरतपुर महानगरपालिकामा भेला गरी संघको १ महिने रजत जयन्तीको शुभारम्भ गर्नु भएकोमा अपाङ्ग संघ चितवनलाई धन्यवाद व्यक्त गर्नुभयो । भरतपुर महानगरपालिका प्राप्त अधिकार र अधिकतम स्रोतको भरपुर परिचालन गरी यस समुदायलाई सहयोग गर्न कुनै कसर नराख्ने उहाँको भनाइ छ ।

भरतपुर महानगरपालिका सामाजिक विकासको क्षेत्रमा अब्बल बन्नुपर्छ भन्ने उद्देश्यका साथ लागिपरेको बताउँदै उहाँले गएको हप्ता यसै प्राङ्गणमा भव्य कार्यक्रमकाबीच स्वागतापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरेको बताउँदै अब अपाङ्गता भएकाहरुको क्षेत्रमा यहाँहरुले अनुभूति गर्ने गरी काम गर्ने बताउनुभयो । भरतपुर महानगरपालिका अपाङ्ग समाजसँगको सहकार्यमा सबै प्रकारका अपाङ्गहरुलाई सहयोग र क्षमता विकासका लागि महानगरपालिकाले ३२ लाख रुपैयाँको हाराहारी बजेटको व्यवस्था गरेको बताउँदै यसबाट अधिकतम लाभ लिन अपाङ्ग समाज चितवनलाई आग्रह गर्नुभयो । 

यस समुदायको क्षमता विकास र जीवनयापनमा सहजीकरणमा सबैको सामुहिक दायित्व भएको भन्दै सबैलाई यसप्रति सचेत हुन आग्रह गर्दै उहाँले भरतपुर महानगरपालिका अपाङ्ग समुदायसँग सँधै रहेको बताउनुभयो ।
भरतपुर महानरपालिका उपप्रमुख एवम् सामाजिक विकास समिति संयोजक पार्वती शाह ठकुरीले अपाङ्ग साथीहरुलाई हुइलचियर, सेतोछडी तथा बैसाखी प्राप्त गर्नेहरुको जीवनयापन केही हदसम्म सहज हुने अपेक्षा राख्दै सहयोगी हातहरुलाई धन्यवाद दिनुभयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख मुना श्रेष्ठले जिल्ला समन्वय समितिले अपाङ्ग समाज र समुदायलाई समन्वयात्मक सहयोग गरिरहेको बताउँदै यस समुदायको सहयोगका लागि जारी रहने बताउनुभयो ।
गंैडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कँडेलले असहायहरुलाई सहयोग गर्नु सबैको दायित्व रहेको भन्दै गैंडाकोट नगरपालिकाले आवश्यक नियमावली बनाएरै काम अगाडि बढाएको बताउनुभयो ।

राष्ट्रिय अपाङ्ग पुनःस्र्थापना समाजका उपाध्यक्ष सुधम भट्टराईले यस समाजले देशका सबै जिल्लाहरुमा हालसम्म ७२ हजारभन्दा बढी हुइलचियर, ट्राइसाइकललगायत सीपमुलक तालिम तथा सहयोग गर्ने गरेको बताउँदै दाताहरुको सहयोगबाट यस्तो सहयोग गरेको बताउनु भयो । अपाङ्गहरु जस्तोसुकै भएपनि संस्थाको सम्पर्कमा आउनेले छिटो सहयोग पाउने बताउँदै उहाँले सहयोग आउँदा दिनहरुमा पनि निरन्तर रहने बताउनुभयो ।

राष्ट्रिय अपाङ्ग महासंघका प्रमुख मित्रलाल शर्माले अपाङ्गहरुका संघसंस्थाहरु साधन स्रोतको अभावमा पनि रजत उत्सव मनाइरहेको बताउँदै कुनै व्यक्ति विशेष वा दाताबाट भन्दा पनि राज्यका निकायहरुले नै यो विशेष व्यवस्था गरी यो समुदायको सहज जिविकोपार्जनका लागि व्यवस्था गर्नुपर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य, रोजगारी र व्यवस्थापनलाई कानुनमार्फत नै सुनिश्चित गर्न सरकारसँग आग्रह गर्नुभयो ।
नेत्रहीन संघ चितवनका अध्यक्ष भरतमणि भट्टले अपाङ्गहरुलाई सबैको समुचित सहयोग हुनुपर्ने बताउँदै अपाङ्गहरुको जीवनयापन ज्यादै कष्टकर भएको भन्दै सहज बनाउन राज्य र समाज सबैको अहम भूमिका हुनुपर्ने बताउनुभयो ।

अपाङ्ग समाज चितवनका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अपाङ्ग संघका पूर्वअध्यक्षहरु तथा यस क्षेत्रमा सहयोग गरेकाहरुलाई सम्मान गरिएको थियो । अपाङ्ग समाज चितवनले रजत जयन्तीको अवसरमा आइतबारदेखि एक महिनासम्म सहयोग तथा जनचेतनासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने अपाङ्ग समाज चितवनका पूर्व सचिव तथा रजतजयन्ती मुल आयोजक समितिका सदस्य यमप्रसाद सुवेदीले बताउनुभयो ।
कार्यक्रममा चितवनका सातै स्थानिय तहका १०० अपाङ्ग तथा सहयोगीहरु सहभागी थिए । ह्विलचियर ७० थान सेतो सडी सात, र बैसाखी १३ थान वितरण गरियो ।