भरतपुरको सडकबाट ३०० को उद्धार, सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर भोली घोषणा गरिदै

रासस

शुक्रबार, ०८ कार्तिक २०७६, १९ : ४५
भरतपुरको सडकबाट ३०० को उद्धार, सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर भोली घोषणा गरिदै

चितवन । चितवनको भरतपुर महानगरपालिकालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा गरिने भएको छ ।

मानव सेवा आश्रमको सहयोगमा महानगर, स्थानीय प्रशासनलगायत विभिन्न सङ्घ संस्थाले संयुक्त रुपमा शनिवार भरतपुरलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा गरिने भएको हो । यो घोषणासँगै भरतपुर नेपालकै पहिलो सहयोगापेक्षी सडकमानवमुक्त महानगर बन्ने छ । 

सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउनका लागि असोज २७ गतेदेखि बेलुका ८ देखि ११ बजेसम्म महानगरका विभिन्न क्षेत्रका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा उद्धार एवं परामर्श सेवा शुरू गरिएको छ । सो क्रममा अहिलेसम्म ३०० जनालाई उद्धार गरिएको महानगरले जनाएको छ । 

उद्धार गरिएकामध्ये वास्तविक संरक्षण दिने खालका जम्मा १० जना भेटिएको र अन्य घर ठेगाना नखुलेका काम गर्न सक्ने रहेको अभियान सञ्चालन गर्दै आएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । 

महानगरकी प्रमुख रेनु दाहालले मानवताका हिसाबले कुनै पनि नागरिक भिख मागेर बस्नु कलङ्कको विषय भएको भन्दै भरतपुरमा कोही पनि नागरिक गाँस, बाँस र कपासका लागि भौतारिने अवस्थाको सदाका लागि अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

मुलुकका १४ जिल्लामा आश्रम खोली करीब दुई हजार बेसहारालाई सडकबाट उद्धार गरिएको र तीमध्ये ८०० लाई परिवारमा पुनःमिलन गराई सकिएको मानवसेवा आश्रमले जनाएको छ । 

अध्यक्ष अधिकारीले भन्नुभयो, “सीमित स्रोत साधनको प्रयोग र जनमत सङ्कलन अभियानबाटै कुनै पनि दातृ निकायको शर्तको सहयोग नलिई देशमा कोही पनि नागरिक भोकै र नाङ्गै हुनु पर्दैन भन्ने कुराको हरेक नागरिकमा बोध गराउन सक्नुपर्छ ।” 

प्रतिक्रिया दिनुहोस