गैरआवासीय नेपाली संघले श्रमिक कल्याणकारी कोषलाई एक करोड दिने

सफल खबर संवाददाता

आइतबार, ०३ कार्तिक २०७६, ०८ : ३३
गैरआवासीय नेपाली संघले श्रमिक कल्याणकारी कोषलाई एक करोड दिने

काठमाडौं । गैरआवासीय नेपाली संघको नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले मध्यपूर्वी मुलुकहरुमा रहेका  नेपाली श्रमिकका लागि स्थापित श्रमिक कल्याणकारी कोषका लागि रु १ करोड ६ लाख रुपैयाँ राहत रकम दिने निर्णय गरेको छ ।  संघका अध्यक्ष कुमार पन्तको प्रस्तावमा संघका नव निर्वाचित पदाधिकारी एवं सदस्यले सो रकम दिने घोषणा गरेका हुन् । बैठकले १९ वटा एजेन्डामाथि बृहत् छलफल गरेको थियो । बैठकले यसअघिकै कार्यसमितिको एजेन्डालाई निरन्तरता दिँदै विभिन्न महत्वपूर्ण निर्णय समेत गरेको छ । बैठकले सरकारले अघि सारेको भिजिट नेपाल २०२० मा सहकार्य गर्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिति गठन गरेको छ । यस्तै पुर्वाधार विकासका लागि रु १० अर्बको लगानी भित्र्याउने अभियान अगाडी बढाउन अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक समिति बनाई १ महिनाभित्र कार्ययोजना प्रस्तुत गर्न बैठकले निर्देशन दिएको छ । 

विद्युतीय पद्दतीबाट प्रत्यक्ष मतदान गर्न र निशुल्क सदस्यता बारे अध्ययन प्रतिवेदन पेश गर्न उपाध्यक्ष मन केसीको संयोजकत्वमा एक समिति गठन गरेको छ । महासचिव डा हेमराज शर्माको संयोजकत्वमा विशेष महाधिवेशन बोलाउने तयारी  गर्ने निर्णय समेत बैठकले गरेको छ ।  विशेष महाधिवेशनले संस्थागत संरचना र निर्वाचन प्रणालीको परिवर्तन गर्नेछ ।  यस्तै बैठकले संघको काठमाडौस्थित सचिवालयलाई चुस्त बनाउन डा हेमराज शर्माको नेतृत्वमा एक समिति गठन गरेको छ । 

संस्थाको आर्थिक प्रतिवेदन तयार गर्न कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा एक समिति निर्माण गर्ने निर्णय गरेको छ । आगामी २ वर्षका लागि कार्ययोजना ररणनीति तय गर्नका लागि निकट भविष्टमा एक कार्यशालाको आयोजना गर्ने भएको छ ।  

संघमा अब ५ विभाग
बैठकले ५ उपाध्यक्षहरुको नेतृत्वमा ५ विभाग (वैदेशिक रोजगार, परोपकारी तथा मानव कल्याण, व्यापार तथा लगानी,  सीप, ज्ञान, र नवप्रवर्तन, नेपाल प्रवद्र्धन) निर्माण गर्ने र विभागमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु र सम्बन्धित क्षेत्रका विज्ञहरुको रहने व्यवस्था गरेको छ ।  एनआरएनए फाउण्डेसन स्थापना गरी परोपकारका सबै कार्यक्रम यसै फाउण्डेसनमार्फत एकद्वार प्रणालीबाट गर्ने निर्णय गरेको छ । प्रथम एनआरएन विज्ञ गर्ने निर्णय गरिएको छ ।  क्षेत्रीय सम्मेलन मध्यपूर्वमा आयोजन गर्ने निर्णय समेत बैठकले गरेको छ । 

संघको संरक्षक समिति गठन
बैठकले गैरआवासीय नेपाली संघको संरक्षक परिषद्को सदस्य समेत चयन गरेको छ । बैठकमा उपस्थित सम्पूर्ण पदाधिकारी र सदस्यको सहमतिमा प्रमुख संरक्षक शेष घले चयन हुनुभएको छ । यस्तै संरक्षक समितिको सदस्यहरुमा डा उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्वसंरक्षक रामप्रताप थापा चुनिनु भएको छ । 

सल्लाहकार समिति गठन
बैठकले गैरआवासीय नेपाली संघको ११ सदस्यीय सल्लाकार समितिमा समेत गठन गरेको छ । सो समितिमा निवर्तमान उपाध्यक्ष कुलआचार्य युके, सपिला राजभण्डारी (रसिया),रामेश्वर शाह (नेपाल), टीबी कार्की (कतार), सोम सापकोटा (माल्टा), त्रिलोक गुरुङ (हङ्कङ), विश्व आदर्श पण्डित (युके), पुष्प तिमल्सिना(स्पेन),जमुना गुरुङ (अष्ट्रेलिया), एसी शेर्पा (अमेरिका), र हरिबोल भट्टराई(अमेरिका) रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस