काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम स्थायी कमिटी सदस्य भीमबहादुर रावलले नेपाली जनताले देश समृद्ध भएको हेर्न चाहेको बताउनुभएको छ ।
नेकपा सुदूरपश्चिम प्रदेशद्वारा आज धनगढीमा विजया दशमी, दिपावली तथा छठ पर्वका अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उहाँले देश समृद्विको दिशातर्फ अगाडि बढेको बताउनुभयो । नेता रावलले नेपाल बहुधार्मिक, बहुभाषिक र बहुजातीय मुलुक भएकाले विभिन्न समुदाय तथा जातजातिले मनाउने जुनसुकै चाडपर्व हाम्रो सांस्कृतिक बगँैचाका फूलबारी जस्तै भएको र हामीले त्यसको संरक्षण गर्नुपर्ने उल्लेख गर्नुभयो ।
नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले हरेक समुदायले मनाउने गरेको चाडपर्वले समुदायबीच एक अर्काको एकताको भाव पैदा गर्ने भएकाले यी चाडपर्वको संरक्षण तथा सम्बद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले हरेक चाडपर्वमा विकृतिसमेत रहेकाले त्यसलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो गाउँ, ठाउँ र प्रदेशलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सबै एकमत भएर अघि बढनुपर्ने बताउनुभयो । सबै मिलेर अगाडि बढेमा मात्रै सुदूरपश्चिमको विकास गर्न सकिने उहाँको भनाइ थियो । नेकपाका प्रदेश अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभाका सभामुख, सङ्घीय सांसद, प्रदेश मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २८ असोज २०७६, २० : २२
लेखकबाट थप