नेपालगञ्जमा भएको विभिन्न घटनामा तीनको मृत्यु

रासस

आइतबार, १९ असोज २०७६, २० : ०२
नेपालगञ्जमा भएको विभिन्न घटनामा तीनको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जस्थित रानीतलाउमा डुबेर आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज–७ का २३ वर्षीय सुनिल भित्रीकोटीको सो तलाउमा डुबेर मृत्य भएको हो । 

सोही तलाउमा डुङ्गा चालकका रूपमा कार्यरत उनको अत्यधिक मदिरा सेवन गरी डुङ्गा चलाउँदा तलाउमा डुबेर मृत्यु भएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओलीले बताउनुभयो ।   

यसैबीच, आज दिउँसो विषादी सेवन गरेका नेपालगञ्ज–१८ लगदवा बस्ने ४० वर्षीय विनोद गोडियाको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । यस्तै नेपालगञ्जमा गए राति मदिरा सेवन गरी कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । भारत विहार भोजपुर घर भई नेपालगञ्ज उपमहानगरपालिका–१८ लगदवा बस्ने विहारी भनी चिनिने नामथर वतन नखुलेका झण्डै ४५ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो । 

सो घटनाको अनुसन्धानका क्रममा प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१८ वस्ने ४० वर्षीय वर्षाती हरिजन र बर्दियाको बारबर्दिया नगरपालिका–५ बस्ने ३५ वर्षीय सन्दीप चौधरीलाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख ओलीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस