४ दिनमा ५८ हजार यात्रुले गरे अग्रिम टिकट बुकिङ

सफल खबर संवाददाता

विहीबार, ०९ असोज २०७६, २१ : ५५
४ दिनमा ५८ हजार यात्रुले गरे अग्रिम टिकट बुकिङ

काठमाडौं । टिकट बुकिङ खुला भएसँगै चार दिनको अवधिमा ५८ हजार ३७० जनाले अग्रिम टिकट बुकिङ गराएका छन् ।  यातायात व्यवसायीले दशैंलाई लक्षित गर्दै गत असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । 

चाडबाड सुरु भएसँगै ट्राफिक प्रहरीले दशैं, तिहार र छठ पर्वको अवसरमा उपत्यकामा ट्राफिक व्यवस्थापन सुरक्षा योजना लागू गरेको छ । 

चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि ट्राफिक प्रहरीले सुरक्षा योजना लागू गरेको हो । 

जसअनुसार ट्राफिक प्रहरीले यात्रुहरुको समस्यालाई समाधान गर्नेगरी  गुनासो सुन्ने व्यवस्था मिलाएको छ । जसमा अग्रिम बुकिङ टिकट नपाएको, टिकटमा भएको गाडी नम्बर र चढ्ने गाडी नम्बर फरक परेको, टिकटमा सिट नम्बर उल्लेख नभएको, बढी भाडा लिएको, टिकट काटेकोमा यात्रु नलिइ गएको, नागढुंगा क्षेत्रमा बढी ट्राफिक जाम भएको लगायतका गुनासो आएको ट्राफिक प्रहरीले जनाएको छ । 

ट्राफिक प्रहरीका अनुसार असोज ५ देखि ८ गतेसम्म ३५४ चालक मापसे कारबाहीमा परेका छन् भने लामो दूरीको सवारी साधनमा २ चालक नराख्ने ३ सवारी साधन कारबाहीमा परेका छन् । 

यस्तै हेल्मेट नलगाउने तथा तीब्र गतिमा सवारी हाक्ने, १२ जना, बढी भाडा असुल्ने ९८ सवारी साधन, ओभरलोड तथा छतमा यात्रु राख्ने ३६ सवारी साधन पनि कारबाहीमा परेका छन् भने र्याकरद्वारा ९६ वटा सवारीसाधान तानेर बाटो खुलाइएको छ ।

प्रतिक्रिया दिनुहोस