कीर्तिपुर आउँदा माइतीघर नै आएजस्तो लाग्छ : प्रचण्ड

शनिबार, ०४ असोज २०७६, १३ : ३१
कीर्तिपुर आउँदा माइतीघर नै आएजस्तो लाग्छ : प्रचण्ड

कीर्तिपुर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुर आउँदा माइतीघर नै आएजस्तो लाग्ने बताएका छन्।

शनिबार कीर्तिपुरको पाँगामा रहेको जनसेवा माध्यामिक विद्यालयमा नवनिर्मित भवन उद्घाटन गर्दै प्रचण्डले भने, ‘कीर्तिपुर आउँदा, अझ पाँगा आउँदा मलाई माइती आएजस्तो लाग्छ। मेरो माइतीघर नै हो भन्याजस्तो लाग्छ।’

उनले आफू २०र२२ वर्षको उमेरमा कीर्तिपुरमा बसेकोले भावनात्मक सम्बन्ध पनि रहेको बताए।

‘तानाशाही पञ्चायतको आन्दोलनको बेलामा भूमिगत रूपमा बस्ने, प्रशिक्षणहरू चलाउने, संगठन बनाउने र जनतासँग अन्तर्क्रिया गर्ने थलो पाँगा, कीर्तिपुर थियो,’ उनले भने।

साथै उनले पहिलो संविधानसभा निर्वाचनमा पनि आफू कीर्तिपुरबाट विजयी भएर गणतान्त्रिक मुलुकको पहिलो प्रधानमन्त्री बनेको स्मरण गरेका थिए। ‘पहिलो संविधानसभामा निर्वाचन लड्ने थलो पनि मेरो कीर्तिपुर नै हुन आइपुग्यो। निर्वाचित भएर गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुने अबसर प्राप्त भयो,’ उनले थपे।

कीर्तिपुरमा युद्ध स्मारक पार्क, खेल मैदान र राष्ट्रिय जातिय संग्रहालय बनाउनुपर्ने उनले बताए। ‘संग्रहालय बनाउने प्रक्रिया त अघि बढिसकेको छ,’ उनले भने, ‘अरू कामहरू अघि बढाउन म पहल गर्छु।’

प्रतिक्रिया दिनुहोस