डेंगुबारे सूचना माग्दै आयो आदेश

सफल खबर संवाददाता

सोमबार, ३० भदौ २०७६, २१ : ००
डेंगुबारे सूचना माग्दै आयो आदेश

काठमाडौं । राष्ट्रिय सूचना आयोगले देशभर फैलिएको डेंगुबाट बच्न आम नागरिकलाई उपयुक्त माध्यमहरूबाट व्यापकरुपमा तत्काल सूचना प्रवाह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश दिएको छ । 

आयोगले सोमबार एक विज्ञप्ति जारी गरी नागरिकको सूचनाको हक, यसको महत्व र उपयुक्त मौकामा  सम्वन्धित सूचना प्रवाह गर्नु पर्ने राज्य प्रणालीको दायित्वलाई स्मरण गराउँदै डेंगुबाट बच्न आम नागरिकलाई उपयुक्त माध्यमहरूबाट व्यापकरुपमा तत्काल सूचना प्रवाह गराउन स्वास्थ्य सचिवलाई आदेश दिएको हो । 

‘नेपालमा संक्रमणको रुपमा फैलिएको डेंगु रोग र यसको नियन्त्रणका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अस्पताल र स्वास्थ्य सेवा प्रवाह गर्ने निकाय, आमसञ्चारका माध्यम तथा परोपकारी संस्था र व्यक्तिहरूबाट भैरहेको प्रयासका बारेमा आम जनतालाई सुसूचित गर्नुपर्छ,’ आयोगकी प्रवक्ता यशोदादेवी तिम्सिनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,

‘यसैगरी डेंगु जस्तो महामारीको रुपमा फैलने रोगबाट बच्न नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्बद्ध निकाय एवं विषय विज्ञहरूसँग यस रोगबाट बच्ने उपायहरू सम्बन्धी सूचना आम जनताले सर्वसुलभरुपमा पाउनु पर्ने कुरातर्फ आयोग नेपाल सरकारको सम्बन्धित निकायका जिम्मेवार पदाधिकारीको गम्भीर ध्यानाकर्षण गराउँछ ।’    

यस्तो छ आयोगबाट जारी भएको आदेश
डेंगु भनेको के हो ? यसको संक्रमण कसरी फैलिन्छ ? डेंगु कसरी सर्छ ?कसरी थाहा हुन्छ ? यसका लक्षणहरू के के हुन् ? यसबाट बच्न के कस्तो उपाय अपनाउनु पर्छ ? उपचार बिधि के हो ? कुन कुन अस्पताल र स्वास्थ्य संस्थाबाट के कस्तो सेवा हासिल हुन्छ ?जस्ता आम नागरिकबाट बारम्बार सोधिने डेंगु रोग सम्बन्धी प्रश्नहरूको जवाफ चिकित्सक र विज्ञहरूको परामर्शसहितको सूचनाहरू विभिन्न सञ्चार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरी आम जनतासम्म पु¥याउनू । 

डेंगु रोग सार्ने लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने अभियानका लागि आवश्यक सूचना प्रकाशन र प्रसारण गरी आम जनतासम्म पु¥याउनू । डेंगुसँग सम्बन्धित सामाजिक सञ्जाल लगायतमा आएका र आउन सक्ने अफवाहहरूको निराकरण हुने गरी सही र सत्य सूचना आम जनतासम्म पु¥याउनू ।

यसका लागि नेपाली भाषाका साथै अन्य राष्ट्रिय भाषा र अंग्रेजी भाषामा समेत सूचना प्रवाह गर्ने प्रबन्ध गर्नू । यस्तो सूचना रेडियो, पत्रपत्रिका, टेलिभिजन, अनलाईन लगायतका आम सञ्चारका माध्यमबाट व्यापक प्रचार प्रसार गर्नू ।सूचनालाई व्यापकता दिन अनलाईन, वेवसाईट लगायत सामाजिक सञ्जालको समेत उपयोग गर्नू, स्थान अनुसार माईकिङ्ग गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने, फ्लेक्स बोर्ड सार्वजनिक गर्ने, स्कूल–कलेजका विद्यार्थीलाई जानकारी दिने र आम नागरिक भेला हुने स्थान तथा कार्यक्रमहरूमा यससम्बन्धी सूचना प्रवाह गर्ने प्रबन्ध मिलाउनू । 

नागरिकलाई सूचना प्रवाह गर्ने काममा संघीय सरकारले प्रदेश सरकार र स्थानीय तहसँग पनि समन्वय गरी सबै प्रदेश र सबै पालिकाबाट पनि सूचना प्रवाह गर्ने प्रबन्ध मिलाउनू । डेंगु रोगबाट बच्नका लागि आम उपभोक्ताले सजगता अपनाउनु पर्ने प्रमुख बुँदाहरू नेपाल टेलिकम लगायत निकायबाट छोटो एसएमएसको माध्यममार्फत सूचना पठाउने प्रबन्ध गर्नू ।

यसरी डेंगुको संक्रमण तत्काल रोक्न, आम जनतामा आवश्यक सूचना प्रवाहका माध्यमबाट ढाडस पैदा गर्न र संक्रमितको शीघ्र उपचार गर्ने लगायतका यससँग सम्बन्धित समग्र सूचनालाई एकीकृत गरी सरल र सहज भाषामा आम नागरिकको पहुँचमा पुगेको पूर्ण प्रत्याभूति गराउनू ।

प्रतिक्रिया दिनुहोस