काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बाँकेको खजुरा गाउँपालिकाको सीतापुरमा भएको घटनामा संलग्न दोषीमाथि अनुसन्धान भइरहेको बताउनुभएको छ ।
सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकमा बाँके घटनाबारे प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै उहाँले भदौ २६ गते खजुरा गाँउपालिका–१ सीतापुरमा घटेको सो घटनालाई सरकारले गम्भीर रुपमा लिएको सदनलाई जानकारी गराउनुभयो ।
बिहीबार खजुरा गाउँपालिकाको सीतापुरस्थित नेपाल रेडक्रश सोसाइटीको भवनमा काङ्ग्रेस बाँकेले ‘राष्ट्रिय जागरण अभियान’ सञ्चान गरेको थियो । सो क्रममा केही व्यक्तिभित्र प्रवेश गरी कार्यक्रम विथोल्न खोज्दा बाँके काङ्ग्रेस सभापति किरण कोइरालामाथि आक्रमण हुँदा उहाँको देब्रे हात भाँचिएको थियो ।बैठकमा सांसदहरुले सभापति कोइरालाले प्रहरी समक्ष किटानी जाहेरी दिँदासमेत सरकारले दोशीलाई कारवाही नगरेको र मुख्य दोषीलाई पक्राउ नगरेको भन्दै गृहमन्त्री थापासँग स्पष्ट जवाफ माग गर्नुभएको थियो ।
गृहमन्त्री थापाले घटनामा संलग्न निर्मल खत्री र रोशन ठकुरीलाई भदौ २८ गते राति २ बजे नै पक्राउ गरिएको संसद्मा जानकारी दिनुभयो । उहाँले बाँके काङ्ग्रेसले कार्यक्रमबारे स्थानीय प्रशासनलाई जानकारी नदिएको भन्दै घटनास्थलमा थप अनुसन्धान एवं शान्ति सुव्यवस्था बिग्रिन नदिन उच्च सतर्कता अपनाइएको बताउनुभयो ।गृहमन्त्री थापाले खजुरा घटनालाई राजनीतिक रुपमा नहेर्न आग्रह गर्नुभयो । प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका सांसदहरुले लगातार राष्ट्रियसभाको बैठक अवरुद्ध गरेपछि भदौ ३० गते सोमबार बस्ने गरी बैठत स्थगित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २९ भदौ २०७६, १९ : ५४
लेखकबाट थप