काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राजनीतिक सहकार्य र सहमतिबाट अघि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।
ताप्लेजुङ सरोकार समाज काठमाडौँले आज आयोजना गरेको ‘१४औँ स्थापना दिवस तथा साधारणसभा’मा उहाँले आपसमा मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
आफूले मन्त्री नियुक्त भएपछि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री भट्टराईले राजनीतिक दल मिलेर जानुपर्नेमा जोड दिनुभयो । अग्रजका भोगाइ र अनुभवबाट सिक्न पार्टीका वरिष्ठ नेता तथा प्रमुख प्रतिपक्ष दलका नेतालाई भेटेको उहाँको भनाइ थियो ।
सरकारका साना कमजोरीलाई ठूलो बनाउन तथा उपलब्धिलाई लुकाउन खोजिएकाले त्यसतर्फ सजग बन्नुपर्ने मन्त्री भट्टराईले बताउनुभयो । “देशभर ४० हजार जनप्रतिनिधि गणतन्त्रलाई संस्थागत गर्न लागिपरेका छन्”, उहाँले भन्नुभयो । कार्यक्रममा समाजका सल्लाहकार भरतबहादुर थेबेले समाजका सदस्य काठमाडौँ बसेर पनि ताप्लेजुङको विकासमा लागिपरेको बताउनुभयो ।
उपाध्यक्ष टंक श्रेष्ठले समाजले वर्षेनी विभिन्न क्षेत्रमा रही योगदान पु¥याउँदै आएका ताप्लेजुङवासीलाई सम्मान गर्दै आएको बताउनुभयो । समाजले सन् २०१८ मा कञ्चनजङ्घा हिमाल आरोहण गरेका विभिन्न व्यक्तिलाई सम्मान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २० भदौ २०७६, २० : ४७
लेखकबाट थप