वार्ता गरी ताला खोल्न निर्देशन

रासस

सोमबार, १६ भदौ २०७६, २० : १२
वार्ता गरी ताला खोल्न निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयमा लगाइएको ताला खोलि परीक्षा सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

उहाँले  विद्यार्थीका जायज माग पूरा गरेर तोकिएको समयमै प्रवेश परीक्षा सञ्चालनको वातावरण बनाउन दुवै विश्वविद्यालयका पदाधिकारीलाई आज निर्देशन दिनुभएको मन्त्रीका स्वकीय सचिव सुनिल खड्काले जानकारी दिनुभयो । 

उहाँले विद्यार्थीका माग पूरा गराउन तत्काल वार्ता समिति गठन गर्न दुवै विश्वविद्यालयलाई निर्देशन दिनुभयो । त्रिवि महाराजगञ्ज चिकित्सा अध्ययन संस्थान र महाराजगञ्ज डीनको कार्यालय तथा परीक्षा शाखामा चिकित्सा क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनलगायतका विद्यार्थीले आइतबारदेखि ताला लगाएका छन् ।

विद्यार्थीले समग्र चिकित्सा सुधारको माग गर्दै ताला लगाएका हुन् । संस्थानले यहि भदौ २१ गते एमबिबिएसका लागि प्रवेश परीक्षा तोकेको छ । 

यसैगरी त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले कुनै पनि समस्याको समाधान वार्ता, सम्वाद र छलफलबाट हुने भएकाले वार्तामार्फत समस्या समाधान गर्न आग्रह गर्नुभयो । आज विज्ञप्ति जारी गदै उहाँले डीन कार्यालयले तत्कालै वार्ता समिति गठन गरी सकेकाले वार्तामा आउन आग्रह  गर्नुभएको हो ।

उहाँले वार्ता समितिसँग छलफल गरी समस्या समाधान गर्न आग्रह गर्दै लगाइएको ताला खोली आम विद्यार्थीको जीवनसँग जोडिएको प्रवेश परीक्षा सूचारुरुपले सञ्चालन गर्ने वातावारण सिर्जना गरी दिन हुन सम्बन्धितलाई अनुरोध गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस