स्थानीय निर्वाचनमा दलित प्रतिनिधित्व

विहीबार, १८ माघ २०७४, १२ : ३२
स्थानीय निर्वाचनमा दलित प्रतिनिधित्व

काठमाडौँ । जागरण मिडिया सेन्टरले मुलुकमा भएको स्थानीय निर्वाचनमा २२ प्रतिशत दलित समुदायको प्रतिनिधित्व भएको जनाएको छ ।

यहाँ बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेन्टरका अध्यक्ष रेमबहादुर विश्वकर्माले ७५३ स्थानीय तहमा ३५ हजार ४१ जनप्रतिनिधिमध्ये सात हजार ७३७ जना दलित प्रतिनिधि रहेको जानकारी दिनुभयो ।

स्थानीय तहमा सो समुदायको प्रतिनिधित्व सन्तोषजनक भएपनि अर्थपूर्ण पदमा हुन नसकेको सेन्टरले जनाएको छ । उक्त प्रतिनिधित्वले राजनीतिक स्थान सिर्जना गरेको तर समावेशीकरणलाई समेट्न नसकेको बताइएको छ ।

अध्यक्ष विश्वकर्माले निर्वाचित दलित तथा अल्पसंख्यक समुदायका प्रतिनिधिले स्थानीय सरकारमा प्रभावकारी भूमिका खेल्नका लागि राज्य र अन्य सहयोगी निकायको पहल आवश्यक रहेको बताउनुभयो ।

सेन्टरले हालै नवलपरासी, रुपन्देही र कपिलवस्तुलाई नमूना जिल्ला मानेर उनीहरुको प्रतिनिधित्वको सन्दर्भमा गरेको अनुसन्धानबाट उनीहरुको निर्णायक भूमिका कायम हुन नसकेको जनाइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस