वडा कार्यालयको तालाबन्दी खुल्यो

विहीबार, १८ माघ २०७४, १२ : १८
वडा कार्यालयको तालाबन्दी खुल्यो

इलाम । इलाम नगरपालिका–१२ साङरुम्वा वडा कार्यालयमा लगाइएको तालाबन्दी नौ दिनपछि खुलेको छ । नगरपालिकाबाट विनियोजन भएको रु २० लाखबाट ढोलेदेवी–इन्टेक जाने सडकमा वडाध्यक्ष लाखमान लिम्बूले बाम गठबन्धनलाई उपेक्षा गरी समिति बनाएको भन्दै गठबन्धनले तालाबन्दी गरेको थियो ।

वडाध्यक्षको नेतृत्वमा बुधबार वार्ता गरी तालाबन्दी खोलिएको आन्दोलन समितिका अध्यक्ष भरत घिमिरेले बताउनुभयो । आगामी दिनमा बाम गठबन्धनलाई समेत समावेश गरी छलफल गर्ने सहमतिपछि तालाबन्दी खोलिएको हो ।

नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र मंगोल नेशनल अर्गनाइजेशनलाई मात्र समेटेर समिति बनाएको भन्दै बाम गठबन्धनले माघ ९ गतेदेखि वडा कार्यालयमा तालाबन्दी गरेको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस