अवकाश पाएका कर्मचारीलाई तत्काल सुविधा उपलब्ध गराउनुपर्छ : सांसद झा

सफल खबर संवाददाता

बुधबार, २१ फागुन २०८१, १५ : १८
अवकाश पाएका कर्मचारीलाई तत्काल सुविधा उपलब्ध गराउनुपर्छ : सांसद झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाट अवकाश प्राप्त एक सय तीन जना कर्मचारीलाई तत्काल बाँकी रहेको सेवा सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उनले अवकाशको तीन वर्षसम्म कर्मचारीहरूले सुविधाबापत पाउने रकम उपलब्ध नगराएको भन्दै माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

“सिमेन्ट उद्योगमा आफ्नो जीवनको ३५ वर्ष दिएकाहरूले अब के दिन बाँकी छ यो सरकारलाई, अनि उनीहरूले पैसा पाउँछन् ”, उनले प्रश्न गरे ।

सांसद झाले राजनीतिक नियुक्तिले सार्वजनिक संस्थानहरू प्रभाव भएको बताए । उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हतोत्साहित गरेको आरोप लगाए।

यस्तै, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले आन्दोलनरत वन उपभोक्ता महासङ्घको माग सम्बोधनका लागि ध्यानाकर्षण गराए।

उनले वन पैदावरको प्रयोग सही ढङ्गले गर्न सक्दा आयातलाई घटाएर निर्यात गर्ने क्षमता देशसँग भएको प्रसङग उल्लेख गर्दै आन्दोलनलाई वार्तामार्फत निकास दिन आग्रह गरे ।

सांसद गैरेले शिक्षक महासंघले विगतमा सरकारसँग गरेको सम्झौता कार्यान्वयनको समेत माग गरे ।

प्रतिक्रिया दिनुहोस