कसले खसाल्यो भिरबाट गाई ?

सफल खबर संवाददाता

शनिबार, १४ भदौ २०७६, १३ : १५
कसले खसाल्यो भिरबाट गाई ?

काठमाडौं । नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाकै लापबाहीले सुर्खेतको जंगलमा दुई दर्जनको हाराहारीमा गाई मरेको दाबी गरिएको छ । राणा गाई मान्ने पार्टी राप्रपाका जिम्मेवार नेता समेत हुन् । तर उनै नेताको लापबारहीले गाई भीरबाट लडाएर मारिएपछि उनीमाथि प्रश्न तेर्सिएकोछ।  

छाडा पशु चौपायाको व्यवस्थापन गर्ने उद्देश्यले शुक्रबार नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउने क्रममा वीरेन्द्रनगरको कटकुवा जङ्गलमा गाइगोरु मरेको अवस्थामा पाइएका थिए । 

२९१ गाई र गोरुमध्ये २५ गाई र गोरु  भिरमा तथा केही सडक छेउछाउमा मृत फेला परेका थिए । स्थानीयवासीले भने गाई र गोरुलाई भिरबाट लडाएर मारेको आरोप लगाएका छन् । उनीहरुले दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार नेपालगञ्ज बजारमा छाडा रहेका गाई र गोरुलाई दैलेखको धार्मिक क्षेत्र श्रीस्थानमा छाड्नका लागि लैजाने क्रममा बाटोमा घटना भएको जानकारी दिए । 

तर, दैलेखस्थित हाम्रो भैरवी गाउँपालिका वडा नं १, श्रीस्थानको नामै तोकेर नेपालगन्जबाट ३७० गाई ‘पाल्नका लागि लगिएको’ भनेर प्रचार गरिएपनि त्यो गलत रहेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जनाएका छन् । 
उनले सामाजिक सञ्जालमार्फत यसबारे श्रीस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशव थापा, वडा नं १ का वडाध्यक्ष काशीराम कार्की, गाउँपालिका अध्यक्ष प्रेमबहादुर वुढा, जिल्ला समन्वय समितिका सदस्य सर्बराज महतारा कसैलाई पनि यजानकारी नगराइएको पाइएको बताएका छन् ।  उनले ‘श्रीस्थानमा त्यति गाई पाल्ने त के बॉध्ने ठाउँ पनि  नभएको अवस्थामा यो समाचार सुनेर त्यहॉका मानिस छक्क परेको बताएका छन् ।  

यसविषयमा उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा मौन छन् । प्रतिक्रिया लिन सम्पर्क गर्दा पनि सम्पर्कमा आएनन् । तर, नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलले बिहीबार दैलेखको श्रीस्थानमा छाड्नका लागि गाई र गोरु लगिएको दाबी गरे ।  “गाई र गोरुसँगै नगरप्रहरीको टोलीसमेत पठाएका थियौँ, बीच बीचमा कोही व्यक्तिले गाई र गोरु लिन चाहेमा उनीहरुलाई बाँड्दै जाने गरी पठाएका थियोँ”, पौडेलले भने । 
आठ ट्रकमा २९१ गाई र गोरु नेपालगञ्जबाट पठाइएको उनले बताए । “नेपालगञ्जको काञ्जीहाउस सानो भएकाले नअटेर जिल्ला प्रशासन कार्यालय बाँकेसँगको समन्वयमा गाई र गोरु पठाएका हौँ”, पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस