आर्थिक तथा सामाजिक युवा परिषद्को बैठक

विहीबार, १८ माघ २०७४, ११ : ५१

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको सातौँ आर्थिक तथा सामाजिक युवा परिषद्को ‘युवा विकासमा वित्तीय लगानी तथा कार्यान्वयनका उपाय’ विषयक मन्त्रिस्तरीय छलफलमा आज सहभागी हुनुभयो ।

त्यस अवसरमा उहाँले हालै नेपालले अख्तियार गरेको संघीय शासन प्रणालीले नेपालमा नै युवावर्गलाई रोजगारीका अवसरमा निम्ति उपयुक्त वातावरण सिर्जना गरेको बताउनुभयो ।

उहाँले गरिबी निवारण कोष, युवा तथा साना उद्यमी स्वरोजगारी कोष र दुर्गम क्षेत्र रोजगारी कार्यक्रममार्फत पनि युवावर्गलाई रोजगारीका निम्ति विदेश जानु नपर्ने अवस्था क्रमशः सिर्जना भइरहेको जानकारी गराउनुभयो ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगका अनुसार मन्त्री केसी ‘दिगो शहरी तथा ग्रामीण समुदाय निर्माणमा युवावर्गको भूमिका’ विषयक छलफलमा पनि सहभागी हुनुभयो । त्यस अवसरमा उहाँले दिगो विकासका लक्ष्य प्राप्तिमा युववर्गबाट हुनसक्ने योगदानबारे पनि चर्चा गर्नुभयो ।(रासस) 

प्रतिक्रिया दिनुहोस