कति छ नेपालमा वाणिज्य बैंकहरूको खुद नाफा ? एनआइसी एसिया बैंक पाँचौ स्थानमा

विहीबार, १२ भदौ २०७६, १५ : ४१
कति छ नेपालमा वाणिज्य बैंकहरूको खुद नाफा ? एनआइसी एसिया बैंक पाँचौ स्थानमा

काठमाडौँ । नेपालमा प्रत्येक वर्ष वाणिज्य बैंकहरूको खुद नाफा बढ्दै गएको छ। गत आर्थिक वर्ष २०७५\०७६ मा २८ वाणिज्य बैंकहरूको खुद नाफा २५ प्रतिशतले बढेको छ।

ती बैंकले ६५ अर्ब ४० करोड रुपैयाँ कमाएका छन्। योमध्ये ५२ प्रतिशत अर्थात्  ३४ अर्ब २४ करोड रुपैयाँ १० बैंकले नै कमाएका छन्। यद्यपी यी १० बैंकको नाफा २१ प्रतिशतले मात्रै बढेको छ। यसको अर्थ ठूला बैंकहरुलेभन्दा साना बैंकहरुको नाफा वृद्धि उच्च छ।

टप टेनको सूचीमा रहेकामध्ये इन्भेष्टमेन्ट र नेपाल बैंकको नाफा अघिल्लो आर्थिक वर्ष २०७४ \७५० को तुलनामा घटेको छ। गत आर्थिक वर्ष राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ। उसले ५ अर्ब ३२ करोड खुद नाफा कमाएको छ। अरू कुनै पनि बैंकको नाफा ५ अर्ब पुग्न सकेको छैन।

धेरैजसो सरकारी संस्थानहरू नोक्सानमा रहेको अवस्थामा पूर्ण सरकारी स्वामित्वको यो बैंकले नविल र इन्भेष्टमेन्ट बैंकलाई पछि पार्दै नाफामा एक  पहिलो भएको हो। अघिल्लो वर्ष २०७४ र ०७५ मा सबैभन्दा धेरै नाफा कमाएको नविल बैंक यसपाली तेस्रो स्थानमा झरेको छ।

दोस्रो स्थानमा उक्लिन सफल कृषि विकास बैंकले ४ अर्ब ३५ करोड खुद नाफा कमाएको छ। अघिल्लो वर्ष यो बैंक नाफाका आधारमा तेस्रो स्थानमा थियो। अघिल्लो वर्ष इन्भेष्टमेन्ट दोस्रो स्थानमा थियो भने अहिले चौथो स्थानमा खस्किएको छ। उसको नाफा नै अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २४ करोड रुपैयाँले घटेको छ।

बढी नाफा कमाउनेमा एनआइसी एसिया बैंक पाँचौ स्थानमा उक्लिएको छ। अघिल्लो वर्ष नाफाका आधारमा यो बैंक ‘टप टेन’बाहिर थियो। नाफामा यो बैंकले सबैभन्दा ठूलो छलाङ मारेको छ। एक वर्षमै १२९ प्रतिशतको वृद्धिदर कायम गर्न सफल भएको छ।

बढी नाफा कमाउने सूचीमा एभरेष्ट बैंक छैटौं स्थानमा छ। सातौमा हिमालयन, आठौंमा ग्लोबल आइएमई, नवौंमा नेपाल बैंक र दशौं स्थानमा स्टान्डर्ड चार्टड बैंक छन्। यीमध्ये नेपाल बैंकको नाफा गत अघिल्लो आर्थिक वर्षको तुलनामा ४० करोड रुपैयाँले घटेको छ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको व्यवसाय नै बढेपछि नाफा बढेको दाबी गर्छन्। राष्ट्रिय वाणिज्यमा अरूजस्तो लगानीयोग्य रकमको अभाव नभएको उनले बताए। लगानीयोग्य रकमको अभाव खेप्नु नपरेकै  कारण राष्ट्रिय वाणिज्य बैंक नाफाका आधारमा एक नम्बर पोजिसनमा आएको उनले बताए। ‘हाम्रो त समग्रमा आधार व्याजदर नै घटेको छ, त्यो दर ६ प्रतिशतमुनि छ’ उनले भने ‘अर्कोतर्फ राष्ट्र बैंकले स्प्रेडदरको सीमा घटाउँदै लगेको छ, त्यसकारण व्याजदर बढाएर नभई व्यवसाय बढेर नाफा बढेको हो।’

एक वर्षको अवधिमा २८ वाणिज्य बैंकहरुबाट प्रवाहित कर्जा १८ प्रतिशतले बढेको नेपाल बैंकर एसोसिएसनको तथ्याङ्कले देखाउँछ। २०७६ असार मसान्तसम्म वाणिज्य बैंकहरुले २४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। २०७५ असार मसान्तसम्म प्रवाहित कर्जा २१ खर्ब ११ अर्ब रहेको थियो।

प्रतिक्रिया दिनुहोस