टेलिप्रिजेन्समार्फत क्याविनेट चलाएकोमा पार्टी भित्रै ओलीको आलोचना

महासचिव पौडेल भन्छन्, –‘सूचना सम्प्रेषण नै सही भएन, खासमा त्यो मन्त्रिपरिषदको बैठक नभएर प्रधानमन्त्रीले मन्त्रीहरुसँग अपडेटका लागि गरेको सम्वाद मात्र थियो’

सफल खबर संवाददाता

विहीबार, १२ भदौ २०७६, ०९ : ०१
टेलिप्रिजेन्समार्फत क्याविनेट चलाएकोमा पार्टी भित्रै ओलीको आलोचना

काठमाडौं । प्रधानमन्त्री केपी ओली यतिबेला उपचारका सिलसिलामा सिंगापुरमा छन् । सिंगापुर जानु अघिल्लो दिन मात्रै उनले कार्यसम्पादन नियमावली २०६४ लाई संसोधन गरेर भिडियो कन्फरेन्समार्फत पनि मन्त्रिपरिषदको बैठक बस्न सकिने कार्यविधि संसोधन गराए ।

कार्यवाहक प्रधानमन्त्री उनले उपप्रधान तथा रक्षामन्त्री इश्वर पाखेरेललाई जिम्मा दिए । तर मन्त्रिपरिषद बैठकको अध्यक्षता गर्न उनले दिएका छैनन् । आफै सिंगापुरबाटै मन्त्रिपरिषद बैठक टेलिप्रिजेन्समार्फत चलाए ।

देश बाहिर रहेर क्याविनेट बैठक भिडियो कन्फरेन्समार्फत चलाउदा देशको गोपनियताका विषयमा प्रतिपक्षी कांग्रेस देखि आफ्नै पार्टीको प्रखर आलोचक मानिएका भीम रावलसम्म कडकिए ।

अहिले त्यो बैठक मन्त्रिपरिषदको थियो, थिएन भन्ने वहस नेकपाभित्र चल्न थालेको छ । प्रधानमन्त्री स्वयंले उक्त बैठकलाई मन्त्रिपरिषद्को बैठक भनेका छन् । प्रधानमन्त्रीकै सामाजिक सन्जालमा उक्त वैठकका तीन ओटा तस्वीर राखेर प्रविधि र प्राविधिकलाई धन्यवाद दिन चाहान्छु । आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्स मार्फत मन्त्रिपरिषद्को बैठक बस्न सकियो । मन्त्रिपरिषद्का सवै सहभागी साथीहरुलाई धन्यवाद । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका सवै सहयोगीहरुलाई धन्यवाद । भन्दै पोष्ट गरिएको थियो । उनका प्रमुख राजनीतिक सल्लाहकारले पनि सिंगापुरदेखि काठमाडौं भन्दै पहिलोपटक टेलिकन्फेन्समार्फत मन्त्रिपरिषद बैठक भनेर पोष्ट गरेका थिए ।

त्यसपछि यसको निक्कै आलोचना हुन थालेको छ । राष्टिय हितको सुरक्षाका लागि प्रश्न उठाउदै प्रतिपक्षी देखि आफ्नै पार्टी नेताहरुको तारोमा प्रधानमन्त्री पर्न थालेका छन् ।

त्यसपछि अहिले यो मन्त्रिपरिषद्को बैठक नै होइन भन्दै ओली निकट नेताहरु बचाउमा लाग्न थालेका छन् ।

ओली निकट नेता तथा नेकपाका महासचिव विष्णु पौडेलले यो विषयमा सही सूचना सम्प्रेषण नभएको आफुले पाएको प्रतिक्रिया दिएका छन् । सफल खबरसँग कुरा गर्दै उनले तीन दिन अगाडी सिंगापुरबाट चलाएको बैठक क्याविनेट बैठक नै नभएको बताए ।

‘यो विषयमा सही सूचना सम्प्रेषण नभएको हो की झै लाग्छ । त्यो त मन्त्रिपरिषद्को बैठक नभएर प्रधानमन्त्री, कार्यवाहक प्रधानमन्त्री र मन्त्रीहरुको भिडियो सम्वाद थियो । प्रधानमन्त्रीले मन्त्रीहरुसँग अपडेट मात्र लिनुभएको हो । क्याविनेट वैठक नै भने होइन ।’

प्रतिक्रिया दिनुहोस