प्रचण्डले बढाए राजनीतिक सक्रियता

पार्टी देखि सरकारका काम कारवाही सम्म लाई गतिशिल बनाउन राजनीतिक सम्वाद तिव्र

सफल खबर संवाददाता

विहीबार, १२ भदौ २०७६, ०८ : ०२
प्रचण्डले बढाए राजनीतिक सक्रियता

काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्ड सक्रिय हुन थालेका छन् । पार्टीका अर्का अध्यक्ष केपी ओलीले आफु नभएका बेलामा पनि पार्टी बैठक बोलाउने र आवश्यक निर्णय लिन सकिने गरी सचिवालय बैठकमा प्रचण्डलाई अधिकार प्रत्यायोजन गरेपछि प्रचण्ड सक्रिय हुन थालेका हुन् ।

नेकपामा प्रचण्ड र ओली दुई अध्यक्ष छन् । दुवैको पार्टी विद्यानमा बराबरी अधिकारको सुनिश्चितता गरिएको छ । दुवै अध्यक्षको परामर्शका आधारमा मात्र पार्टी बैठक बोलाउन सकिने र सहमतिका आधारमा मात्र निर्णय लिने ब्यवस्था विधानमा छ ।

यस अगाडी ओली नहुँदा प्रचण्डले बैठक बोलाउन सक्दैनथे । तर यसपटक ओली स्वयंले आफु नहुँदा पनि प्रचण्डले बैठक बोलाउन सक्ने र पार्टीका आवश्यक निर्णय पनि लिन पाउने गरी सचिवालयमा निर्णय गराएपछि प्रचण्ड पार्टीमा शक्तिशाली अध्यक्षका रुपमा देखा परेका छन् ।

त्यही क्रममा उनी पार्टीमा अहिले निक्कै सक्रिय हुन थालेका छन् । पार्टीको सचिवालय बैठक उनले यो बीचमा बोलाईसकेका छन् । केही कार्यविभाजन टुंगो लगाएका मात्र छैनन, पार्टीमा जथाभावी बोल्दै हिड्ने र अनुशासन उल्लंघन गर्ने नेता कार्यकर्तालाई अव कारवाहीको भागिदार बनाउने भन्दै स्पष्टिकरण र कारवाहीको विषयमा निर्णय समेत गराएका छन् ।

अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग यसै साता राजनीतिक भेटघाट गरेका छन । उनले पार्टीका असन्तुष्ट नेताहरुका समस्या सुन्ने, सम्बोधन प्रयास गर्ने काम पनि गरेका छन् ।

प्रधानमन्त्री सिंगापुर उपचारका लागि जानु अगाडी पार्टी बैठकमा चर्काचर्की गरेका ओली र वरिष्ठ नेता माधव नेपालबीचको विवाद र असन्तुष्टी मिलाउने सम्मका काममा पनि उनले पहलकदमी लिएका थिए ।

वुधबार मात्रै पनि उनले पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ लगायत नेताहरुसँग संसदीय गतिविधिमा पार्टी भूमिकाका विषयमा छलफल गरेका छन् । संसदमा विधेयकको अवस्था र पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा प्रचण्डले नेताहरुसँग छलफल गरेका थिए ।

त्यस्तै, प्रचण्डले पार्टीका कार्यवाहक प्रधानमन्त्री इश्वर पोखरेल, मन्त्रीहरुसँग पनि छलफल गरिरहेका छन् । उनले अन्य प्रतिपक्षी दलका नेताहरुसँग पनि सहमतिय राजनीतिक प्रक्रियाका लागि उत्तिकै सक्रियता देखाएका छन् ।

५ भदौंमा सिंगापुरमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली प्रस्थान गरेपछि प्रचण्ड ले शिथिलतामा रहेको पार्टीलाई गति दिने प्रयास गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस