भारतीय विदेशमन्त्री सुषमा स्वराज मोदीको सन्देशसहित आज नेपाल आउँदै

विहीबार, १८ माघ २०७४, १० : ११
भारतीय विदेशमन्त्री सुषमा स्वराज मोदीको सन्देशसहित आज नेपाल आउँदै

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज नेपाल आउने भएकी छन् । उनको दुई दिने नेपाल बसाई दुई देशबीचको आपसी सम्बन्ध सुदृढ गर्ने बिषयमा केन्द्रित रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । विशेष विमानमा उच्चस्तरीय टोलीसहित विदेशमन्त्री स्वराज दिउँसो ३ बजे काठमाडौं आइपुग्ने तयारी रहेको बताइएको छ ।

नेपालमा रहँदा उनले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा तथा राजनीतिक दलका नेताहरुसँग दुईपक्षिय चासोका बिषयमा केन्द्रित रहेर छलफल गर्ने परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

यस्ता कुटनीतिक भ्रमण गर्नुअघि सम्बन्धित देशलाई पहिले नै जानकारी दिने गरिएको भए पनि  यसपाली भने भारतले भ्रमणको दुई दिन अगाडि सोमबार मात्र जानकारी गराएको छ भने भ्रमणको कार्यतालिका स्पष्ट छैन । परराष्ट्र स्रोतले भन्यो, “कतिबजे आईपुग्ने, भेट कतिबजे शुरु हुने यी सबै हालसम्म खुलाईएको छैन यो भ्रमण उहाँहरुकै ईच्छाअनुसार भएको हुँदा त्यसको कार्यतालिका अहिले हामीसँग छैन । दिउँसो आईपुग्ने भन्ने जानकारी छ ।”

विदेशमन्त्री स्वराजको टोलीमा  विदेश सचिव विजयकेशव गोखले, विदेश मन्त्रालय प्रवक्ता रवीस कुमार, नेपाल हेर्ने सुधाकर देलेला तथा अन्य अधिकारीहरु सहभागी हुनेछन् ।

परराष्ट्र मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालका अनुसार यो नेपालको निम्तामा हुन लागेको भ्रमण नभई भारतले आफुनै किसिमले गर्न लागेको विशेष भ्रमण हो ।

मोदी नेतृत्वको सरकारमा विदेश मन्त्रालय सम्हालेलगत्तै २०७१ साउन ९ मा नेपाल आएकी स्वराजको अहिलेको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

उनी मोदीको विशेष दूत बनेर आउन लागेको भन्दै कुटनीतिज्ञहरुले यो मोदीको नेपाल भ्रमणको तयारीस्वरुप हुन सक्ने आकलन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस