- शान्ता सिम्खडा
म बनुं तिम्रो कानको कुन्डल
कि बनुं तिम्रो कम्मरको कन्दनी
कि त तिम्रो पाउको बनेर पाउजु
बजुं म तिम्रै निम्ति छमछमी ।
बन्न त मन थियो बनमाला गलाको
बनु झैँ लाग्छ शिरको मुकुट मयुरको
अज्ञानी छु पार लगाउ कृष्णा
शरण पाउँ हरदम चरणमा हजुरको
मलाई वाफ होइन ताप(प्रकाश) बन्नु छ
जहाँ चेतनाको जाज्वल्यता छ
अनन्त प्रकाशको सघनतामा डुब्नु छ
जुन कृष्णमय (अँध्यारो) छ
त्यही अन्धकारमा अनन्त प्रकाश(राधा) व्याप्त छ
हो, जहाँ अन्धकार र प्रकाशको भेद रहन्न
जहाँ राधा र कृष्णको बिछोड हुन्न
मलाई त्यही दिव्य धाममा पुग्नु छ
म कृष्णा बनुँ र राधामा समाहित हुँ
म राधा बनुँ र कृष्णामा विलय हुँ
हे कृष्णा ! हे कृष्णा !! हे कृष्णा !!!
प्रतिक्रिया दिनुहोस