जनप्रतिनिधिलाई चिन्ता

बुधबार, १७ माघ २०७४, १७ : ५५

पथरी मोरङ । नेपाली काँग्रेसको समानुपातिक सूचीबाट १ नं प्रदेशको सांसद बन्नुभएकी शान्ता पौडेल संसद्को पहिलो बैठकमा जानुअघि आफू कसरी प्रस्तुत हुने भन्ने विषयमा साथीसँग छलफलमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “म नयाँ हूँ मैले आफूलाई कसरी प्रस्तुत गर्ने भन्नेबारे साथीसँग छलफल गरिरहेको छु ।

सांसदमा जाँदा के एजेण्डा लिएर जाने भन्नबारे छलफल भइरहेको जानकारी दिंदै उहाँ भन्नुहुन्छ, “प्रदेश सांसदले नै कानून बनाउने भएकाले देश र जनताको हित हुनेगरी मेरा एजेण्डा तय हुन्छ ।”
उहाँ मात्र होइन प्रदेशसभाको बैठक बस्ने दिन नजिकिँदै गर्दा यहाँका महिला सांसद आफ्ना एजेण्डा कसरी प्रस्तुत गर्ने भन्नेमा चिन्तित हुनुहुन्छ । उहाँहरू पहिलो बैठकमा प्रस्तुत हुनका लागि गृहकार्यमा जुट्नुभएको हो । एमालेबाट समानुपातिक सांसद बन्नुभएकी सावित्रा रेग्मीले १ नं प्रदेशलाई नमूना प्रदेशकोरुपमा स्थापित गर्ने योजनाका साथ लागिपर्ने बताउनुभएको छ ।

पहिलो संसद्को बैठक आफ्ना लागि पनि नयाँ अनुभव भएकोे र धेरै विषय भएकाले प्राथमिकताको आधारमा अघि बढने उहाँ उल्लेख गर्नुहुन्छ । प्रत्यक्ष निवार्चनमा चुनाव जितेका नयाँ संसद्लाई बैठकमा जाँदा के एजेण्डा लिएर जाने भन्ने अन्यौल नै छ । बाम गठबन्धनबाट मोरङ क्षेत्र नं ४ ९१० बाट निर्वाचित विजय थारु भन्नुहुन्छ , “जनताले चाहे अनुसारको काम गर्न सकिन्छ की सकिँदैन भन्ने चिन्ता छ ।”
प्रदेश नं १ मा ९३ संसद् प्रदेशसभाको बैठकमा सहभागी हुँदैछन् तर सहभागी हुने सांसदमा केही बाहेक अधिकांश नयाँ अनुहार छन् । प्रदेश प्रमुखको कार्यालयले १ नं प्रदेशको पहिलो सांसद बैठक मोरङको जिल्ला समन्वय समितिको सभाहलमा यही माघ २२ गते १ बजेका लागि बोलाएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस