शिक्षा ब्यावसायिक र जीवनोपयोगी हुनुपर्ने : प्रमूख दाहाल

मंगलबार, १६ माघ २०७४, २० : ०५
शिक्षा ब्यावसायिक र जीवनोपयोगी हुनुपर्ने : प्रमूख  दाहाल

चितवन । भरतपुर महानगर प्रमूख रेनु दाहालले अबको शिक्षा ब्यावसायिक र जीवनोपयोगी हुनुपर्ने बताउनु भएको छ ।

स्मल हेभन मोडल स्कुल भरतपुर २, आँपटारीको अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै दाहालले यस्तो बताउनु भएको हो । कार्यक्रमकी प्रमुख अतिथि दाहालले वर्तमान शिक्षा नीति विदेशीका लागि जनशक्ति उत्पादन गर्नेजस्तो भएको भन्दै अब यसलाई तोडेर समय अनुकुल सीपमूलक, ब्यावहारिक र उत्पादनमूलक क्षिक्षा नीति तय गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

निजी क्षेत्र नाफामुखीमात्र नभई सेवामूलक हुनुपर्नेमा जोड दिँदै दाहालले महानगरपालिकाले निजी र सामुदायिक विद्यालयहरूको समुचित विकास र बिस्तार गर्दै लैजाने बताउनु भयो । प्रमुख दाहालले सभ्यताको प्रमुख आधार शिक्षा भएको बताउँदै यस क्षेत्रमा लागेकाहरूको भूमिका विशेष हुनुपर्ने बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लंकबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वसांसद उमेश श्रेष्ठ, विद्यालय संचालक चुडामणि खनाल, महानगरका शिक्षा अधिकृत बाबुराम दवाडी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष नवराज मरहठ्ठा र विद्यालयका निर्देशक रामप्रसाद भट्टले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले विज्ञान प्रविधिको प्रदर्शनी गरेका थिए । उक्त प्रदर्शनीमा प्रवास पराजुली, म्रिनभराज खयरगोली, समिर खड्का र असिम पाण्डेले प्रस्तुत गरेको आर्मीको ट्यांक आकर्षणको केन्द्र बनेको थियो ।

प्रतिक्रिया दिनुहोस