विपद् व्यवस्थापन र स्वास्थ्य सेवाका कार्यक्रम विस्तार हुने

मंगलबार, १६ माघ २०७४, १९ : ४२

काठमाडौँ ।  नेपाल रेडक्रस सोसाइटीले विपद् व्यवस्थापन र स्वास्थ्य सेवाका कार्यक्रमलाई अगामी दिनमा अझ विस्तार गर्ने जनाएको छ । 

सोसाइटीले हाल ३३ जिल्लाका ५१ नगरपालिका र ४४ गाउँपालिकाका विपद् व्यवस्थापन तथा रक्तसञ्चार सेवा, एम्बुलेन्स सेवा, आँखा सेवा तथा आपत्कालीन स्वास्थ्य सेवा जस्ता स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालन गरिरहेको छ । ती कार्यक्रमबाट गत वर्ष चार लाख ६५ हजार ८९४ परिवार लाभान्वित भएका सोसाइटीले जनाएको छ । 

यसैबीच सोसाइटीद्वारा सञ्चालित विपद् व्यवस्थापन र स्वास्थ्य सेवाका कार्यक्रमको वार्षिक समीक्षा बैठक चितवनमा सम्पन्न भएको छ । सोसाइटीका सञ्चार विभाग प्रमुख दीव्यराज पौडेलद्वारा आज यहाँ जारी विज्ञप्तिका अनुसार बैठकमा विपद व्यवस्थापन विभागका प्रमुख धर्मराज पाण्डे र स्वास्थ्य सेवा विभागका प्रमुख मोना अर्यालले कार्यक्रमका प्रगति प्रस्तुत गर्दै आगामी दिनमा ती दुई कार्यक्रमलाई विस्तार गरिने जानकारी दिनुभयो । 

कार्यक्रममा गृह मन्त्रालय राष्ट्रिय आपत्कालीन केन्द्रका प्रमुख डा दयाराम श्रेष्ठले विपद् व्यवस्थापन ऐनका बारेमा चर्चा गर्दै यसको प्रभावकारी कार्यान्वयनमा उतार्न जोड दिनुभएको विज्ञप्तिमा जनाइको छ । 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव सीता दवाडीले मन्त्रालयद्वारा सञ्चालित विपद् उत्थानशील योजना, नेपाली सेनाका विपद् व्यवस्थापन निर्देशनालयका प्रमुख जितबहादुर गुरुङ, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक नरबहादुर रावतले विपद् व्यवस्थापनका बारेका आ–आफ्ना कार्यालयका विपद् कार्यक्रममा जानकारी एवं प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा सोसाइटीका अध्यक्ष सञ्जीव थापाले सबैखाले विपद् तथा स्वास्थ्यका समस्या तत्काल सम्बोधन गर्न सोसाइटीका स्वयंसेवक लागिरहेको अगामी दिनमा यस किसिमका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो । 

अष्टे«लियन रेडक्रसका प्रतिनिधि मुकेश सिँह, आइसिआरसीका प्रतिनिधि आन्दे पाकेले अगामी दिनमा विपद् व्यवस्थापन र स्वास्थ्य सेवा क्षेत्रमा सोसाइटीमार्फत समुदायलाई निरन्तर सहयोग जारी रहने बताउनुएको विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस