अमेरिकाको टेक्सासमा अन्धधुन्द गोलीप्रहार, २० जनाको मृत्यु

टेक्सासमै रहेका एक नेपाली पत्रकार भन्छन्, –‘घटनामा अहिलेसम्म नेपाली परेको खबर छैन ।’

सफल खबर संवाददाता

आइतबार, १९ साउन २०७६, ०८ : २४
अमेरिकाको टेक्सासमा अन्धधुन्द गोलीप्रहार, २० जनाको मृत्यु

काठमाडौं । अमेरिकाको टेक्ससस्थित अल पासोमा नेपाली समय अनुसार, गएराती अन्धधुन्द गोली प्रहार भएको छ । घटनामा परी २० जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएको अन्तराष्ट्रिय समाचार संस्था बिबिसिले जनाएको छ ।

टेक्सासमै रहेका नेपाली पत्रकार कुमार राउतका अनुसार, घटनामा घाइतेहरुको संख्या धेरै रहेकोले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान स्थानिय प्रहरीले गरेका छन् । उनले घटनामा अहिलेसम्म नेपाली परेको जानकारी थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

टेक्सास नेपालीहरु पनि बढी रहेको अमेरिकी राज्य हो । ‘अहिलेसम्म नेपाली परेको भन्ने जानकारी आएको छैन,’ राउतले सफलखबरसँग भने ।

मृतकहरुको पहिचान खुलिसकेको छैन । घटना सिलो भिस्टा मलको वालमार्ट स्टोरमा भएको थियो । यो अमेरिका र मेक्सिकोको सीमाबाट केही माइल टाढा पर्छ ।

स्थानीय समयअनुसार १०ः३९ बजे गोली प्रहार भएकोमा ६ मिनेट भित्रैमा त्यहाँ सुरक्षाकर्मी पुगेको आल पासो प्रहरी प्रमुख चिफ ग्रेगले जनाएका छन् ।

टेक्सासका गभर्नर ग्रेग अब्बोटले सो घटनालाई टेक्ससकै इतिहासको एउटा भयानक दिन भएको बताएका छन् । घटनामा संग्लन्न भएको आशंकामा प्रहरीले एक जना २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।  अमेरिकी सञ्चार माध्यमका अनुसार शंकास्पद सो व्यक्तिको नाम प्याट्रिक क्रुसिअस हो । ऊ डल्लास क्षेत्रको एलेन नगरको बासिन्दा हो । जुन स्थान अल पासो क्षेत्रबाट १०४६ किमी पूर्वमा पर्दछ ।

सो बन्दुकधारीको बारेमा एफबीआइले अनुसन्धान गरिरहेको जनाइएको छ । उसको एउटा कागजातमा स्थानीय हिस्पानीक समुदायलाई लक्षित गरेको पाइएकोले सो बारेमा अध्ययन भइरहेको जनाइएको छ ।

सीसीटीभी क्यामेरामा डार्क टिशर्ट लगाएको सो युवकले एसल्ट खालको राइफल भिरेको छ । अब्बोटले सो युवकलाई पक्राउ गरेकोमा प्रहरीको सराहना गरेका छन् । अब्बोटले पीडित र तिनका आफन्तको समर्थनमा सबै रहेको जनाएका छन् ।

वालमार्टमा थुप्रै मानिसहरु थिए । अल पासोको प्रहरीले शुरुमा रगतको अभाव भएको भन्दै रक्तदानको आग्रह गरेको थियो । सो घटनाको बारेमा टिप्पणी गदैै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई ज्यादै खराब भन्दै धेरै जना मारिएको बताएका छन् ।

घटनापछि डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार बेछो ओ रोर्केले आफनो लस भेगासको चुनावी अभियान स्थगन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस