लोकतन्त्रमा चुनौती आयो : सभापति देउवा

रासस

शनिबार, १८ साउन २०७६, २१ : ३३
लोकतन्त्रमा चुनौती आयो : सभापति देउवा

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमाथि चुनौतीपूर्ण अवस्था आएको बताउनुभएको छ ।
 
आज भक्तपुरको कौशलटारमा लेखक दीपेन्द्रराज गिरीको पुस्तक बिधाताको बिमोचन गर्दै उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई लोकतन्त्रको रक्षाका लागि सङ्घर्षका लागि तयार रहन निर्देशन दिनुभयो ।
सभापति देउवाले लोकतन्त्रका उपलब्धि गुम्न सक्ने खतरा आएको भन्दै काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको बताउनुभयो ।

प्रेस स्वतन्त्रताको महत्वपूर्ण जग र नागरिकको महत्वपूर्ण अधिकार नै प्रेस भए पनि सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्न खोजेको जिकिर गर्दैै उहाँले जनताका हक अधिकार कुण्ठित गर्दै गए संसद्मा सङ्र्घषरत काङ्ग्रेस सडकमा समेत सङ्घर्ष आउन बाध्य हुने बताउनुभयो ।

कार्यक्रममा काङ्ग्रेस नेता विश्वप्रकाश शर्मा, गगन थापा, पूर्वसभामुख दमननाथ ढुङ्गाना, प्रा डा गोविन्दराज पोखरेल, काङ्ग्रेस जिल्ला सभापति दुर्लभ थापालगायतले पुस्तकको चर्चा गर्दै अब देशमा कुनै पनि प्रकारको युद्ध होइन, शान्ति र समृद्धि चाहिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस